काठमाडौं- हास्य अभियन्ता मनोज गजुरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार राति फेसबुक पेजमा उनले यो जानकारी दिएका छन्।
गत साता दाजुलाई अस्पताल लाने ल्याउने क्रममा संक्रमण भएको हुनसक्ने अनुमान उनले गरेका छन्। 'गत बिहीबार सामान्य टाउको दुख्यो। शुक्रबार ९८ डिग्रीको ज्वरो देखियो। शनिबार ढाडको दुखाइ महसुस गरेँ। त्यसपछि हिजो पिसिआर टेस्ट भयो । भर्खरमात्र कोभिड पोजेटिभ भनेर रिपोर्ट आएको हो। बिहिबारदेखि नै आइसोलेसनमा छु,' गजुरेलले भनेका छन्।
सेल्फ आइसोलेसनको कडा पालनासहित दाजुभाइ घरेलु उपचारमा रहेको उनले सुनाएका छन्। 'संक्रमणबाट बच्न सुरक्षाका सम्पूर्ण उपायहरू अपनाउँदा अपनाउँदै पनि यो जुनसुकै बेला जसलाई पनि लाग्न सक्ने रहेछ। आफू सचेत रहन, अरुलाई सुरक्षित रहन तथा पोजिटिभ देखिइहालेमा पनि नआत्तिन, विश्वासिलो चिकित्सकको सम्पर्कमा रहन अनुरोध छ,' गजुरेलको सुझाव छ।