धरान- कोरोना संक्रमणबाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
मृत्यु हुनेमा धरान उपहानगगरपालिका–१६ की ८३ वर्षीया वृद्धा छन् भने अर्का मोरङको पथरी शनिश्चरे–३ का ६३ वर्षीय वृद्ध पुरुष हुन्।
प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उच्च रक्तचापका दीर्घरोगी धरान–१६ की वृद्धाको आज बिहान ३ बजेर ५ मिनेटमा मृत्यु भएको हो।
उनलाई गत मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो। यसैगरी मोरङको पथरी शनिश्चरेका वृद्धलाई कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
मधुमेहका दीर्घरोगी वृद्धलाई कात्तिक ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो। दुवै मृतकको शव नियमअनुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ।