महोत्तरी- महोत्तरीलगायतका मिथिला क्षेत्रमा आज सोमबार देवी प्रतिमा विसर्जन गरिँदैछ।
शारदीय नवरात्रका अवसरमा निर्माण गरी स्थापित गरिएका देवी दुर्गाका प्रतिमा देवी पूजन सम्पन्न भएसँगै आज विजया दशमीका दिन पवित्र जलाशयमा विसर्जन गरिन्छ।
महोत्तरीको जलेश्वरस्थित अति प्राचीन भार्गव, पुरन्दर सर (तलाउ) मा आज बिहानैदेखि ठाउँठाउँमा निर्मित देवी प्रतिमा गहिरो जलाशयमा विसर्जन गरिँदै छन्। त्यसैगरी रातु, ओक्सी, बिग्ही, मरहा र बाँकेलगायतका नदीमा पनि प्रतिमा विसर्जन गर्नेहरुको समूह बिहानैदेखि देखिएको छ।
पर्वका अवसरमा निधारमा टीका लगाउने परम्परा नभएको मैथिल संस्कृतिमा देवी प्रतिमास्थल र घरघरका दसैं घरमा राखिएको जमरा भने प्रसादस्वरुप शिरमा सिउरिने गरिन्छ।
माटो मुछेर नयाँ स्थापित गरिएका देवी प्रतिमा बाहेकका धातु र काठका मूर्ति रहेका शक्तिपीठ र मन्दिरमा भने पूजा विसर्जन गरेर मुख्य पुजारीले जमरा र प्रसाद दिने मैथिल परम्परा छ।
मिथिलामा विजया दशमीका दिन दुईवटा पौराणिक परम्परा मानिदै आइएका छन्। अघि सत्ययुगमा दैत्यहरुको संहार गर्ने देवी दुर्गाको नवरात्रभरि गरिएको पूजा विसर्जन र विजया दशमीकै दिन त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीरामले रावणआदि राक्षसको संहार गरेको विश्वास गरिन्छ।
यो विश्वासअनुसार विजया दशमीका दिन रावणबध उत्सव मनाउने मैथिल परम्परा छ।
यसपालि कोभिड–१९ सङ्क्रमण जोखिमले गर्दा महोत्तरीमा रावणबध मूर्ति स्थापना र उत्सव भने आयोजना गरिएका छैनन्। जिल्लाको मटिहानीमा बर्सेनि आयोजना हुने रावणबध महोत्सव यसपालि सङ्क्रमण जोखिम बढ्दै गर्दा रोकिएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ।
रासस