आइतबार, भदौ १४, २०८३

छुन पाइँदैन अब ‘सेल्फी–अंगालो’

कोरोना महामारीले शारीरिक स्पर्शको महत्त्व राम्रैसँग बुझाइदिएको छ। शारीरिक स्पर्श त के कसैलाई देखेपछि दूरी कायम गर्नुपर्ने भएपछि हामीलाई स्पर्शको अभाव खट्किन थालेको छ।
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

आठ महिनायता हामीले कसैसँग हातै मिलाएका छैनौं। सँगै नबस्ने मित्र वा आफन्तलाई अंकमाल गर्ने त परको कुरा। साथी वा आफन्तलाई दुःखसुखमा ढाडस दिँदै पिठ्यूँ थपथपाउन त बिर्सिसक्यौं होला। 

घरबाहिर हुने जरुरी भेटघाटमा पनि ध्यान ‘आपसी दूरी’ मै हुन्छ। त्यति मात्र कहाँ हो र! महिनौंपछि भेट भएका परिवारका सदस्यलाई हामी अंकमाल वा चुम्बन गर्दैनौं, जुन विगतमा सामान्य र स्वाभाविक थिए।

हामी अहिले एकआपसमा दूरी कायम गर्नुपर्ने बाध्यतामा छौं। त्यसैले मानवीय स्पर्शको महत्त्व कति हुँदो रहेछ भन्ने थप स्पष्ट भएको छ।

कोरोना महामारीले शारीरिक स्पर्शको महत्त्व राम्रैसँग बुझाइदिएको छ। शारीरिक स्पर्श त के कसैलाई देखेपछि दूरी कायम गर्नुपर्ने भएपछि हामीलाई स्पर्शको अभाव खट्किन थालेको छ।

हामीले स्वास्थ्य संकट मात्र होइन स्पर्श संकट पनि झेलिरहका छौं त? कोरोना महामारीअघि  मानिसले चाहेको स्पर्श पाइरहेका थिए? समाजले हामीलाई स्पर्शका लागि चाहिँदो अवसर दिएको छ?

यी प्रश्न बीबीसी रेडियो फोर र वेलकम कलेक्सन संस्थाले आयोजना गरेको ‘स्पर्श परीक्षण’ मा सोधिएको थियो।

माइकल ब्यानिसीको नेतृत्वमा लन्डनको गोल्डस्मिथ युनिभर्सिटीका मनोवैज्ञानिकको समूहले सन् २०२० को जनवरीदेखि यसबारे अध्ययन थालेको हो। दुई महिनासम्म गरिएको अनलाइन अध्ययनमा ११२ देशका ४० हजार व्यक्ति सहभागी थिए।

उनीहरुलाई आफ्ना साथी वा अपरिचितले छोएको मनपर्छ कि पर्दैन? टाढैबाट हात मिलाउन अनुमति दिने उपकरण प्रयोग गर्ने चाहना छ कि छैन? जस्ता प्रश्न पनि सोधिएको थियो ।

अध्ययनले मानवीय स्पर्शका बारेमा एउटा सूक्ष्म चित्र उजागर गरेको छ। ‘स्पर्शको अभाव’ वा थप स्पर्शको चाहना महामारीअघि पनि थियो भन्नुचाहिँ विषयको अति सामान्यीकरण हुनेछ। अवस्था त्योभन्दा बढी जटिल र रोचक पनि छ। 

जीवनमा पुग्दो स्पर्श पाइएको छ कि छैन र आजको समाजले एकअर्कालाई स्पर्श गर्ने पर्याप्त अवसर दिएको छ कि छैन भन्नेमा मानिसहरुबीच दुई थरी मत छ। 

अध्ययनका अधिकांश सहभागीले सन् २०२० को सुरुताका नै प्रश्नको उत्तर दिइसकेका थिए। युरोपका अधिकांश देशमा भौतिक दूरी र लकडाउन व्यापक भइसकेका बेला मानिस नयाँ परिस्थितिमा अभ्यस्त भइसकेका थिएनन्।

आधाआधी सहभागीले जीवनमा पुग्दो स्पर्शको अभाव भएको बताए भने ४२ प्रतिशतले आवश्यक मात्रामा स्पर्श पाइरहेको बताए। त्यस्तै समाजले स्पर्शका लागि आवश्यक अवसर नै नदिएको बताउने ४३ प्रतिशत थिए भने समाजले चाहिँदो अवसर दिएको बताउने २६ प्रतिशत।

अध्ययनको नतिजाले के स्पष्ट भयो भने कोही व्यक्ति अधिक स्पर्शको चाहना गर्छन्। उनीहरुका अनुसार आधुनिक जीवनशैलीले स्पर्श पाउने अवसरमा रोक लगाएको छ। तर, यसमा सबैको सहमति नहुन सक्छ । न त सबैले स्पर्शको त्यति धेरै चाहना राख्छन्।

झन्डै तीन चौथाइ सहभागीले पारस्परिक स्पर्श मन पर्ने बताएका थिए भने २७ प्रतिशतलाई त्यस्तो मन नपर्ने रहेछ। अध्ययन टोलीले सहभागीको उमेर, लिंग र अन्य विषयको समीक्षा गर्दै कसले स्पर्श मन पराउने रहेछन् र कसले स्पर्श मन नपराउने रहेछन् भन्ने खोज्दा दुई कारण देखिए।

पहिलो कारण हो, व्यक्तित्व। अन्तर्मुखी व्यक्तिभन्दा बहिर्मुखी व्यक्तिहरु स्पर्शको सन्दर्भमा सकारात्मक देखिए।

दास्रो कारण, व्यक्तिले कति सजिलै अर्को वयस्कसँग सम्बन्ध विस्तार गर्न सक्छ भन्नेमा पनि स्पर्शबारेको निर्णय आधारित हुन्छ।

जो अरुसँगको सम्बन्धमा आफूले बढी स्वतन्त्रताको चाहना राख्छन् वा अरुसँग भावनात्मक रुपले नजिकिन सक्दैनन् उनीहरु स्पर्श त्यति रुचाउँदैनन्। तर, भावनात्मक सम्बन्धमा रुचि र सहजता देखाउने साथै आप्mनो सम्बन्धप्रति उत्सुक व्यक्तिहरु भने स्पर्शलाई महत्त्व दिन्छन्।

स्पर्शको चाहना राख्ने व्यक्तिहरु आजको विश्वमा स्पर्शका लागि चाहिँदो अवसर नभएको ठान्छन्। यसको एउटा प्रमुख कारण हो दोस्रो पक्षको सहमति। हुन सक्छ मिटू अभियान व्यापक भएपछि केही मानिस शारीरिक स्पर्शप्रति बढी नै सचेत छन्।

अर्को कारण के हो भने स्पर्श हुन सक्ने खालका सामाजिक अन्तरक्रियाको अभाव र शारीरिक सम्पर्कप्रतिको परिवर्तित सामाजिक दृष्टिकोण।

यो ‘स्पर्श परीक्षण’ ले उचित स्पर्श कत्तिको शक्तिशाली हुन्छ भन्ने संकेत पनि गरेको छ। स्पर्शप्रति नकारात्मक धारणा राख्ने व्यक्तिभन्दा सकारात्मक धारणा राख्ने व्यक्तिहरुमा बढी तन्दुरुस्ती पाइयो भने उनीहरुले एक्लो अनुभव पनि कम भएको बताए। त्यस्ता व्यक्ति जसले भर्खरै स्पर्श सुख पाएका थिए उनीहरुमा यो मात्रा अझ धेरै थियो। 

यी परिणामहरु विश्वका अधिकांश ठाउँमा लकडाउन हुनुअघि नै निकालिएका हुन् । यद्यपि अध्ययनको अन्तिम सातामा बेलायत तथा विश्वका अन्य मुलुकमा लकडाउन सुरु भइसकेको थियो र त्यो समयमा सहभागीले पुग्दो स्पर्श नपाइरहेको बताएका थिए।

लकडाउनपछिको अवस्था कस्तो रह्यो त भन्ने जान्न हामीले दुई मुलुकका उदाहरण हेर्नुपर्ने हुन्छ।

अमेरिकाको मायामी युनिभर्सिटीको स्कुल अफ मेडिसिनकी मनोवैज्ञानिक टिफ्यानी फिल्डले अप्रिलमा गरेको अध्ययनमा के देखियो भने महिनाको अन्त्यसम्ममा ६८ प्रतिशत सहभागीले न्यूनदेखि उच्च तहको स्पर्शको अभाव महसुस गरिरहेका छन्।

जर्मनीको बुन्डेसर युनिभर्सिटीका बायोलोजिकल साइकोलोजीका प्रोफेसर मरले फेरहस्टले पनि अप्रिलमै पाँच मुलुकमा गरेको अनलाइन अध्ययनको प्रारम्भिक परिणामअनुसार ६१ प्रतिशत व्यक्तिले अपरिचितबाट हुने स्पर्शको अभाव महसुस गरेको बताए भने ३५ प्रतिशतले पारिवारिक सदस्यहरुको स्पर्शको अभाव महसुुस गरेको बताए।

हामीलाई लाग्न सक्छ, लकडाउनमा जब परिवारका सदस्य एकै घरमा सँगै बसे तब उनीहरुले शारीरिक स्पर्शसहितको स्नेह पाए होलान्। तर, टिफ्यानी फिल्डको अध्ययनले पाँच जनामा एक अभिभावकले मात्र बच्चालाई अंकमाल गर्ने, बोक्ने र म्वाइँ खाने गरेको देखायो।

स्पर्श र अंकमालबाट वञ्चित भएपछि हामीलाई त्यसको अभाव महसुस हुन थाल्छ। मानव शरीरमा सुखद स्पर्श थाहा पाउने एउटा विषेश प्रणाली नै हुन्छ । साथै, हाम्रो छालामा त्यस्तो तत्त्व हुन्छ जसले पीडा शीघ्र थाहा पाउँछ र प्रतिक्रिया जनाइहाल्छ। कुनैकुनै भावलाई भने बिस्तारै मात्रै प्रतिक्रिया दिन्छ।

हाम्रो छालालाई प्रति सेकेन्ड तीन सेन्टिमिटरको गतिमा स्पर्श (हामीले कसैलाई सान्त्वना दिन बिस्तारै गर्ने स्पर्श) गर्ने हो भने, त्यो जानकारी स्नायु प्रणालीमार्फत मस्तिष्कमा पुग्छ।

यो बेला शरीरमा रमाइलो खालको रासायनिक मिश्रण बन्छ, तनाव उत्पन्न गर्ने कर्टिसोल रसायन कम हुन्छ र शान्तभाव दिने अक्सिटोसिनको उत्पदन बढ्न पुग्छ। कसैले थपथपाउँछ भन्ने अपेक्षा मात्रले शरीररमा डोपामाइनको मात्रा बढ्न पुग्छ।

संक्रमणको त्रासका कारण अझै लामो समयसम्म शारीरिक दूरी कायम गर्नुपर्ने अवस्थामा स्पर्श अभावलाई चिर्न के गर्न सकिएला त?

टिफ्यानी फिल्डले अप्रिलमा गरेको अध्ययनमा के पाइन् भने मानिसले खुला ठाउँमा शारीरिक अभ्यास गर्ने हो भने शारीरिक स्फूर्ति र निद्रामा उल्लेख्य सुधार हुन्छ र जसले स्पर्श अभावलाई केही हदसम्म प्रतिस्थापन गर्न सक्छ।

प्रोफेर मरले फेरहस्ट सही गतिमा थपथपाउन सहयोग गर्ने एप विकास गर्न लागिपरेका छन्। यो एपले आफूले आफैंलाई थपथपाउन पनि सहयोग गर्नेछ।

उनको अनुसन्धानले के पनि देखाएको छ भने हामीले कुनै लोसन वा क्रिम शरीरमा बिस्तारै लगाउँदा त्यसले पनि स्पर्श सुखको अनुभूति दिन्छ। 

हामीले कसैलाई स्पर्श गर्दा त्यसको गुणस्तरमा पनि ध्यान दिनुपर्छ। तपाईंको स्पर्शले अर्को व्यक्तिलाई न्यानो स्नेह र सुरक्षाको अनुभूति होओस्।

यी सबै उपाय अहिले काम लागिरहेका छैनन् भने ‘स्व–अंकमाल’ (सेल्फ हग) को उयाय कस्तो होला?

यसका लागि तपाईंले यसअघि गरिएको सबैभन्दा रमाइलो अंकमालको स्मरण गर्नुस् र आफ्ना दुवै हात शरीरको चारैतिर पुर्‍याएर आफैंलाई अंगालो मार्नुस्। यो साँच्चैको अंकमाल जस्तो त नहोला तर, खराब पनि हुँदैन। यसले फाइदै गर्छ।

स्पर्श सुखका लागि अब ‘सेल्फी–अंगालो’ को पालो!

(बीबीसी रेडियो फोरकी प्रस्तोता क्लाउडिया ह्यामन्ड मानवीय स्पर्शबारे लामो समयदेखि अध्ययनरत छिन्। यस सम्बन्धमा उनका केही पुस्तक पनि प्रकाशित छन्। बीबीसी फ्युचरमा प्रकाशित उनको यो लेख महेश्वर आचार्यले अनुवाद गरेका हुन्।)
 

प्रकाशित: Oct 25, 2020| 10:01 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।