आइतबार, भदौ १४, २०८३

दसैं आयो, आएन रौनक 

 घटस्थापनामा राखिएका जमरा हुर्किसकेका छन्। घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको नीलो आकाश अनि उडेका चंगाले दसैंको स्वागत गरिरहेका छन्। 
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

ओखलढुंगा- घटस्थापनामा राखिएका जमरा हुर्किसकेका छन्। घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको नीलो आकाश अनि उडेका चंगाले दसैंको स्वागत गरिरहेका छन्। 

शरद ऋतुको यस मौसमले दसैंलाई स्वागत गरे पनि आमनागरिकले  मनैदेखि दसैं भित्र्याउन सकिरहेका छैनन्।  यसअघिका दसैंमा लिंगे र रोटे पिङको मच्चाइ, मेला, जात्रा र शक्तिपीठमा हुने भीडले दसैं स्वागत गरिरहेको हुन्थ्यो। 

लामो समय घर बाहिर रहेकाहरु घर फर्किन्थे। वर्ष दिनसम्म नभेटिएकाहरु भेटिन्थे। बसाइँ सरेर गएकाहरु दसैंको मौका पारेर गाउँ फर्किन्थे, एकअर्कामा खुशी साटासाट गर्थे। 

पर्यटकीयस्थल भरिभराउ हुन्थे। बजारका पसलमा किनमेल गर्नेको भीड हुन्थ्यो। दसैंमा एकार्काको घरमा जाने, मिष्ठान्न परिकार खाने चलन हुन्थ्यो। यस वर्ष त्यस्तो केही छैन।

‘अरु वर्ष दसैं खुुब रमाइलो हुन्थ्यो। यस वर्ष त कोरोनाका कारण जताततै सुनसान छ। क्यालेण्डरमा बाहेक दसैं कतै आएको जस्तो देखिएन। मनमा रोगको डर भएपछि जति रमाउन खोजे  पनि सकिँदो रहेन छ,’ सिद्धिचरण नगरपालिकाकी पार्वती श्रेष्ठले भनिन्। 
 
कोरोनाको संक्रमण बढ्दो छ। एकातिर कोरोनाको त्रास, अर्कातिर रित्तो गोजी।  पहिले जो जहाँभए पनि दसैंमा घर आउने चलन हुन्थ्यो, यस  वर्ष ठीक उल्टो अवस्था छ। जो जहाँ छन् त्यहिँ बसेर जसो तसो दसैं मनाउने तयारीमा छन्। घरमा वृद्ध बुुबाआमा हुनेहरु आशीर्वाद लिन जाने रहर हुँदाहुँदै पनि कोरोनाको जोखिमले यस वर्ष घर फर्किएनन्।

समुुदायस्तरमै संक्रमण फैलिएकाले जमघट र भेटघाट प्रायः बन्द छन्। शहरबाट गाउँ आएकाहरु होम क्वारेन्टाइनमा बसेका छन्। सरकारले स्वास्थ्य मापदण्ड अपनाउन  आग्रह गरेको छ। 

स्थानीय तह र प्रशासनले जिल्लाजिल्लामा विशेष सुरक्षा योजना लागू गरेका छन्।  सुनकोशी गाउँपालिकासहितका स्थानीय तहले दसैंमा पिङ खेल्न प्रतिबन्ध लगाएका छन्। 

कोरोना फैलिने डरले जमघट हुने सबै क्रियाकलापमा रोक लगाइएको गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारी बताउँछन्। बाहिरबाट गाउँआएकाहरु र गाउँमै हुनेहरु भेटघाट हुने थलोका रुपमा पिङ, मेला, खेलकूद जस्ता कार्यक्रम हुने भएकाले त्यसलाई रोक लगाउनुपरेको स्थानीय सरकारका प्रमुखहरुको तर्क छ। 

ठूलाबडा, माइत, मामाघर वा ससुराली टीका थाप्न जानेहरु यस वर्ष नजाने योजनामा छन्। कोसेली लिएर आउने पाहुनाले कोरोना ल्याउँछन् कि भन्ने त्रास छ। त्यसैले पाहुना स्वागत गर्न नागरिक त्यति आतुर छैनन्। 

कोरोना संक्रमण रोक्न सरकारले चैतमै लकडाउन गरेपछि धेरैले रोजगारी गुमाए। दसैंका लागि चैतवैशाखदेखि नै पैसा जम्मा गर्नेले यसपालि एक सुको कमाउन  पाएनन् भने भएको पनि बचाउन सकेनन्।

चैतमा लकडाउनसँगै रोजगारी गुमाएकाहरु अहिलेसम्म काममा फर्कन पाएका छैनन्। त्यसैले पोहोरपरारको जस्तो किनमेल गरेर र हर्षोल्लासका साथ दसैं मनाउने अवस्था छैन। कोरोनाको त्रासका कारण मात्रै होइन, यस पटक पैसा नभएकाले पहिले जस्तो दसैं हुने अवस्था छैन।

विगतमा घरमा सिङ्गै खसी ढाल्नेहरु यस वर्ष धार्नीमा मासु जोखेर ल्याउन बाध्य छन्। नयाँ लुुगा अनिवार्य मान्नेहरु पुुरानामै चित्त बुझाइरहेका छन्।  मन खुसी भए धन नभए पनि ऋण काढेर दसैं मनाउन तम्सिने नेपालीहरु यस वर्ष दसैं जसरी आउँछ त्यसरी जान्छ भन्ने अवस्थामा पुगेका छन्। 

अहिले लकडाउन र निषेधाज्ञा हटे पनि व्यापार व्यवसाय चौपट छ। अघिल्लो वर्ष यतिखेर भ्याइनभ्याई हुने पसलेहरु यतिबेला फुर्सदमा छन्, पसल खालीखाली छन्। 

पसल खाली भएसँगै काठमाडौंँमा व्यवसाय गर्दै आएका ओखलढुंगाका सन्तोष बस्नेतको मन पनि रित्तो छ। ‘व्यापार व्यवसाय सोचेजस्तोे छैन । दसैं लागेको जस्तो त होइन सामान्य अवस्थाको जत्तिको पनि रौनक भएन,’ उनी भन्छन्, ‘अहिलेको समयमा भीडभाड गरेर चाडपर्व मनाउनु निकै जोखिम छ। यस वर्ष स्वस्थ रहन सकियो भने अर्को दसैंमा रमाइलो गर्नुुपर्छ।’ 

प्रकाशित: Oct 25, 2020| 05:27 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।