आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • शक्तिपीठमा जमरा चढाउने दिन आज महानवमी, तलेजु मन्दिर नखुल्ने

शक्तिपीठमा जमरा चढाउने दिन आज महानवमी, तलेजु मन्दिर नखुल्ने

वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ । वर्षमा एक दिनमात्र खुल्ने भएकाले यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्ने गरेको थियो ।
 |  आइतबार, कात्तिक ९, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक ९, २०७७

आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ ।

महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ। दशैँघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्तिपीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना, दुर्गा सप्तशती, श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ । 

पशुबलि नदिनेहरुले भने आज आ–आफ्नो कुल परम्परा अनुसार कुभिण्डो, घिरौंला, मूला, काँक्रो र जटा नरिवल समेत बलि दिई पायस पनि चढाउने गर्दछन् । अधिकांश स्थानमा महाअष्टमीको दिनमा बलि दिने र महानवमीका दिनमा मार हान्ने चलन छ । 

मार्कण्डेय पुराणमा उल्लेख भए अनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तवीज राक्षसलाई मारेको (वध) ले महानवमी पर्वलाई विशेष महत्वका साथ लिइन्छ । कतिपय शक्तिपीठमा भने आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबलि दिने गरिन्छ । महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । 

प्रत्येक वर्ष महानवमीका दिन बिहान हनुमानढोकामा राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलि दिइने गरेकामा यो वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण नदिइने निर्णय सरोकारवाला निकायको बैठकले गरेको छ । घटस्थापनादेखिको नित्य पूजा र बलिको कार्यक्रम भने भइरहेको दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दीप खनालले बताए।
हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर पनि यो वर्ष कोरोनाकै कारण नखोलिने उनले बताए। तुलजा भवानीको यात्रा भने नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको साइतमा गरिने छ ।

वर्षमा एक दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर प्रत्येक वर्ष आश्विन शुक्ल नवमी अर्थात् महानवमीका दिनमात्र खुल्ने परम्परा छ । वर्षमा एक दिनमात्र खुल्ने भएकाले यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्ने गरेको थियो ।

तलेजु भवानीको दर्शन गर्न चाहने भक्तजन महानवमीका दिन बिहानै लाममा बस्ने गरेका थिए । लाम बसेका सबै भक्तजनलाई देवीको दर्शन गर्न दिने गरिन्छ । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलि सहित पूजा गर्ने परम्परा छ।

प्रकाशित: Oct 25, 2020| 00:17 आइतबार, कात्तिक ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।