काठमाडौं- महानगरीय प्रहरी वृत थानकोट र महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले शनिबार बसको क्याबिनमा लुकाएर ल्याइएको ठूलो परिणाममा लागुऔषध बरामद गरेको छ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गामा सप्तरीको राजविराजबाट आएको ना ८ ख ६४९७ नम्बरको बसबाट नियन्त्रित लागुऔषध बरामद गरिएको हो।
क्याबिनमा लागुऔषध भेटिएपछि प्रहरीले बसका सहचालक सप्तरी जयपुर गाउँपालिका २ घर भएका ३५ वर्षीय वीरेन्द्र कुमार साहलाई नियन्त्रणमा लिएको थियो।
उनले सिरहा लहान नगरपालिका १३ घर भई हाल काठमाडौं बस्ने २४ वर्षीय अमर यादब र सोही नगरपालिका २३ घर भएका २४ वर्षीय ईन्द्रजित सहनीलाई दिन ल्याएको बयान दिएपछि प्रहरीले ती दुई जनालाई पनि पक्राउ गरेको छ।
लागुऔषध लिन काठमाडौं महानगरपालिका १४ स्युचाटार पुगेका दुवै जनालाई प्रहरीले त्यहीँबाट नियन्त्रणमा लिएको हो।
प्रहरीले बसबाट नाइट्रोजेपाम १ हजार २ सय ट्याब्लेट, डाइजेपाम १ सय ३५ एम्पुल, फेनरागन १ सय ३४ एम्पुल, नुर्फिन १ सय एम्पुल र ब्राण्ड तथा जेनरिक नाम उल्लेख नभएको १ सय ३० एम्पुल बरामद गरेको छ। प्रहरीले तीनैजनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको छ।