सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नागरिक समाजका २३ अगुवा भन्छन्- प्रधानमन्त्रीले रअ प्रमुखसँग अवाञ्छित भेट गर्नु दुर्भाग्यपूर्ण

नागरिक समाजका २३ अगुवा भन्छन्- प्रधानमन्त्रीले रअ प्रमुखसँग अवाञ्छित भेट गर्नु दुर्भाग्यपूर्ण

नागरिक अगुवाहरुले राजनीतिको यो घातक प्रवृत्तिको विरोध गर्न र राष्ट्रिय अस्मितामा आँच पुर्याउने जुनसुकै विदेशी मुलुक गतिविधिविरूद्ध निरन्तर खबरदारी आमजनसमुदायमा अपिल गरेका छन्। 
 |  शनिबार, कात्तिक ८, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक ८, २०७७

काठमाडौं-  प्रधानमन्त्री केपी शर्मा ओलीले  कूटनीतिक माध्यम र मर्यादाको पूर्ण बेवास्ता गरी भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग गोप्य रुपमा लामो कुराकानी गरेको भन्दै नागरिक समाजका २३ अगुवाहरुले आपत्ति जनाएका छन्।

उनीहरुले जनताले छिमेकीसँग अझ घनिष्ट, सुदृढ र सौहार्दपूर्ण सम्बन्ध बनाउने अपेक्षा गरेको समयमा प्रधानमन्त्रीबाटै यस्तो अवाञ्छित गतिविधि हुनुलाई  दुर्भाग्यपूर्ण भनेका छन्।

उनीहरुले नेपालको सार्वभौमसत्ता, स्वतन्त्रता र राष्ट्रिय स्वाभिमानमा ठाडो हस्तक्षेप आमन्त्रण गर्ने र वैदेशिक दासता स्वीकार्ने राजनीतिक प्रवृत्तिप्रति  गम्भीर आपत्ति प्रकट गरेका छन्। 

नागरिक अगुवाहरुले राजनीतिको यो घातक प्रवृत्तिको विरोध गर्न र राष्ट्रिय अस्मितामा आँच पुर्याउने जुनसुकै विदेशी मुलुक गतिविधिविरूद्ध निरन्तर खबरदारी गर्न समाजका हरेक तप्का र आमजनसमुदायमा अपिल गरेका छन्। 

गोप्य रुपमा विशेष विमानबाट आएका रअका प्रमुख गोयलले गत बुधबार राति प्रधानमन्त्री ओलीसँग शिष्टाचार भेट गरेका थिए। शिष्टचार भनिए पनि भेटमा कूटनीतिक प्रतिनिधि सहभागी थिएनन्। न त भेटका ठोस एजेन्डा नै सार्वजनिक गरिएको छ।

नागरिक समाजका २३ जना अगुवाहरुले जारी गरेको संयुक्त अपिलमा भनिएको छ, 'एक विदेशी मुलुकको गुप्तचर प्रमुखसँग परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा संलग्न नगराई देशको सर्वोच्च कार्यकारी प्रमुख प्रधानमन्त्री आफैंंले मध्यरातसम्म घण्टौं गरेको गोप्य वार्तालाई कूटनीतिक भाषामा कसरी शिष्टाचार भेट भन्न सकिन्छ?'

साथै एक्लै भेट गरेर प्रधानमन्त्री ओलीले आफैंले जारी गरेको कूटनीतिक आचारसंहिता उल्लंघन गरेको आरोप उनीहरुले लगाएका छन्।

अपिलमा भनिएको छ, 'गैरकूटनीतिक र आफैंले जारी गरेको कूटनीतिक आचारसंहिता विपरीत भेटघाट गरेकोले हामीलाई थप चिन्तित बनाएको हो। विगतमा कसैका यस्तै गल्तीलाई आधार बनाएर मुलुकको कार्यकारी प्रमुख स्वयंले गरेका यस्ता गोप्य भेटघाट र अवाञ्छित गतिविधिको औचित्य पुष्टि गर्ने प्रयास हुन्छ भने त्यो राष्ट्रका लागि दुर्भाग्यपूर्ण हुनेछ।'

यसमा सरकारको कूटनीतिक लापरबाही, छिमेकी भारतको मिचाहा प्रवृत्ति र त्यसलाई मलजल गर्ने नेपाली राजनीतिक नेतृत्वको राष्ट्रिय हितविपरीतको कार्य जिम्मेवार रहेको ठहर उनीहरुको छ। 

विद्यमान सीमा विवादबारे सरकारले कूटनीतिक तहमा औपचारिक वार्ताका लागि बारम्बार गरेको पत्राचारप्रति भारतले पूर्ण बेवास्ता गर्दै आएको छ। 

यस्तो अवस्थामा सोही देशको गुप्तचर मामिलासम्बन्धी संस्था प्रमुखसँग भेट गर्ने प्रधानमन्त्रीको कार्यशैली लापरबाही रहेको भन्दै उनीहरुले चिन्ता व्यक्त गरेका छन्। 

अपिलमा भनिएको छ, 'कोरोना महामारीको तीव्र विस्तारको चपेटामा परेको र अन्तर्राष्ट्रिय उडान बन्द रहेको अवस्थामा विशेष विमानबाट रहस्यमय ढंगले नेपालमा आगमन, कूटनीतिक माध्यम र मर्यादाको पूर्ण बेवास्ता गरी प्रधानमन्त्री आफैंले मध्यरातसम्म गोप्य रुपमा लामो कुरा गरेको समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ।'

रअ प्रमुखको भ्रमणको एजेन्डा, उनी आफैं आए वा कसैले आमन्त्रण गरेको थियो, वार्ता कोकोसँग र कुनकुन विषयमा गरियो भन्ने विषयमा केही उल्लेख थिएन।

नागरिक अगुवाहरुले भनेका छन्, 'प्रचलित कूटनीतिक कार्यविधिअनुसारको कूटनीतिक पदाधिकारीसँग भेट गर्न किन उपयुक्त ठानिएन र गुप्तचर निकायसँग नेपालले एकदमै अपर्झट कुरा गर्नुपर्ने विषय के थियो भन्ने जस्ता गम्भीर प्रश्न अनुत्तरित रहेको रहस्यमय भ्रमणबारे सार्वभौम मुलुकको सचेत नागरिकका हैसियतले हामीले चासो राखेका हौं।'

सरकारले यस्ता प्रश्नको इमानदार र स्पष्ट जवाफ तत्काल दिनुपर्ने माग उनीहरुको छ। उनीहरुले भनेका छन्, 'लोकतान्त्रिक सरकारले जनउत्तरदायित्वको यो न्यूनतम दायित्व निर्वाह गरोस् भन्ने हाम्रो आग्रह छ।'

उनीहरुले प्रधानमन्त्रीले आफ्नो देशका उपयुक्त तहका अधिकारीहरूसँग भेट्न लगाएर अन्त्यमा शिष्टाचार भेट दिन आवश्यक भए सम्बद्ध सरकारी अधिकारीसहित शिष्टाचार भेट हुनुपर्नेमा त्यसो नगरिएको भन्दै आपत्ति जनाएका छन्। 

अपिलमा भनिएको छ, 'सोझै जासुसी विभागका प्रमुखलाई त्यो पनि जुन समयमा, जसरी, जहाँ, जति समय देशको कार्यकारीले भेट गर्नुभयो त्यसलाई जसरी प्रतिरक्षा गरे पनि कुनै पनि हालतमा जायज मान्न सकिँदैन।'

अपिलमा छिमेकी मुलुकमा उक्त गुप्तचर संस्थाका गतिविधिले निम्त्याएका घटना सुखद नरहेको स्मरण गरिएको छ। 

रअले नेपाललगायत अरू मुलुकको अन्तरिक राजनीतिमा अवाञ्छित चलखेल गर्दै अक्सर विवादास्पद भूमिकामा रहिआएको ठहर उनीहरुको छ।

अपिलमा भनिएको छ, 'त्यस्तो संस्थाका प्रमुखसँग अन्य कुनै पदाधिकारी वा नेताबाट गैरकूटनीतिक भेटघाट भएमा त्यस्ता गतिविधिलाई निरुत्साहित र नियन्त्रित गर्नुपर्ने प्रमुख दायित्व भएको मुलुकको सर्वोच्च कार्यकारी प्रमुख आफैंले छिमेकीसँगको सम्बन्ध सुधार कूटनीतिक माध्यमबाट सबै नेपाली जनताको जनभावना तथा समर्थनको बलमा गर्ने हो न कि गोप्य र अपारदर्शी गुप्तचर निकायसँगको सल्लाहमा।' 

उनीहरुले रअ प्रमुख गोयलको भ्रमणले प्रचलित कूटनीतिक अभ्यासको उल्लंघन र नेपालको सार्वभौमसत्ता र राष्ट्रिय स्वाभिमानको अपमान मात्र नगरी थुप्रै गम्भीर प्रश्न उठाएको औंल्याएका छन्।

अपिलकर्ताहरू
१. उमाशंकर प्रसाद
२. दीपेन्द्रबहादुर क्षेत्री
३. देवेन्द्र सिटौला
४. द्वारिकानाथ ढुंगेल
५. धनकुमारी सुनार
६. निगम हुमागाईं
७. निर्मला ढकाल
८. पीताम्बर शर्मा
९. वीणा झा
१०. डा. भरत प्रधान
११. भैरव रिसाल
१२. मानवी पौडेल
१३. डा. महेश मास्के
१४. युवराज संग्रौला
१५. रमेश खरेल
१६. लीलामणि पौडेल
१७. डा. शरद वन्त
१८. सरिता तिवारी
१९. डा. सरोज धिताल
२०. सूर्यनाथ उपाध्याय
२१. सूर्यराज आचार्य
२२. हरि रोका
२३. त्रिलोकसिंह थापा क्षेत्री

प्रकाशित: Oct 24, 2020| 10:20 शनिबार, कात्तिक ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।