बागलुङ- खेतबारीको बालीमा बाँदरको रजाईँले आजित बनेका बागलुङको काठेखोला गाउँपालिकाका किसान बाँदर धपाउने मेसिन पाएपछि थारै राहतको सास फेर्न थालेका छन् ।
गाउँपालिकाले अनुदानमा उपलब्ध गराएको मेसिनले केही समयका लागि भए पनि बाँदर भाग्ने भएपछि किसानलाई सहज भएको छ।
‘एउटा वडाबाट धपाउँदा अर्को वडामा पुग्छ, पड्काएको केहीबेरसम्म बाँदर आउँदैनन्,’ वडा नम्बर २ का किसान कान्तलाल जैसीले भने, ‘मेसिनका कारण सजिलो भएको छ।’
बाँदरले बाली मासेपछि मारमा परेका किसानलाई पछिल्लो समय सजिलो भएको उनको भनाइ छ। पोहोरभन्दा यस वर्ष मेसिनको सहयोगमा बाँदर नियन्त्रण गर्न सकिएकाले खेतबारीको बाली जागाउन सकिएको जैसीले बताउछन्।
‘मकै पाक्ने बेला बाँदरको बास नै खेतबारीमा हुन्थ्यो, हिउँद र वर्षा बाँदर धपाएरै दिन काटिन्थ्या,’ जैसीले भने, ‘अहिले एक पटक धपाए पछि केही दिनका लागि ढुक्क भइन्छ।’
बन्दुकजस्तै पड्किने मेसिन गाउँपालिकाले किसानलाई उपलब्ध गराएको हो। मेसिन प्रयोग गर्न थालेपछि बाँदर कहिलेकाँही घुमिफिरी आउने गरेको वडा नं ६ बिहुँका बालानन्द कँडेल बताउँछन्।