काठमाडौं- प्रमुख प्रतिपक्षी दल कांग्रेसले आफ्ना नेता तथा कार्यकर्तालाई हरेक वडामा कारोना व्यवस्थापन क्याम्प बनाउन आह्वान गरेको छ।
पार्टीको संगठन विभाग प्रमुख गोपालमान श्रेष्ठले जारी गरेको विज्ञप्तिमा ‘सरकारले महामारीका बेला हात उठाएकाले नेपाली काँग्रेसले आफ्नो भूमिका निर्वाह गर्न लागेको’ उल्लेख छ।
शुक्रबार जारी विज्ञप्तिमा देशका हरेक वडामा कोभिड व्यवस्थापन क्याम्पको सञ्चालन गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आग्रह गरेको हो।
‘पिसिआर परीक्षण आफैं गर, गाह्रो नभई अस्पताल नआऊ, संक्रमित मृतकको दाहसंस्कार आफैं गरजस्ता गैर–जिम्मेवार निर्देशन सरकारी पक्षबाट आउनु अत्यन्त दुखद र निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ, ‘सरकारले पूरै हात उठाएको वर्तमान अवस्थामा जनताले राज्यको अस्तित्वको आभाष गर्न छाडेका छन्। यो विषम परिस्थितिमा प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्नो भूमिका बढाउनु अपरिहार्य छ।’
क्याम्प सञ्चालन गर्न कार्यकर्ताले कोभिड व्यवस्थापन समितिसँग समन्वय गरी वडामा रहेको आवश्यक बजेट समेत सदुपयोग गर्न आह्वान गरिएको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको व्यवस्थापन नजिकैको स्वास्थ चौकी, अस्पताल तथा स्वास्थ मन्त्रालय अन्तर्गतका निकायहरूसँग समन्वय गर्न पनि विज्ञप्तिमा भनिएको छ।
त्यस्तै वडाहरूका उम्मेदवार भएका हारे, जितेका वडा अध्यक्षहरूको नेतृत्वमा एक समिति समेत बनाउन आग्रह गरेको छ।