जनकपुरधाम- कोरोना महामारीका बीच दसैंको सातौं दिन जनकपुरधामका शक्तिपीठहरूमा फूलपाती भित्र्याइएको छ।
शुक्रबार सप्तमी तिथिको दिन जनकपुरधामको राजदेवी मन्दिरमा नेपाली सेना, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीले सलामीसहित निकालेको डोला जनकपुरधामको मारवाडी सेवा समिति पुगेर बेलको फल टिपी फुलपाती भित्र्याएको छ ।
जनकपुरधामको राजदेवी मन्दिरबाट बाजागाजासहित निस्केका भक्तजनहरुको समूहले शक्तिपीठ नजिक रहेका बेलको रुख मुनि गएर हिन्दु परम्परा अनुसार पूजा पाठ गरेर फर्किएको छ। षष्ठी तिथिका दिन निम्ता दिएको बेलको फललाई सप्तमी तिथिको विहान तोडेर ल्याई बली दिने चलन छ।
पहिले बेलको नै बली दिने चलन रहेको थियो, पछि मात्र बोकाको बलि दिने चलन चलेको बताइन्छ ।
त्यस्तै आज जनकपुरधामको शक्तिपिठहरुमा विहानैदेखि खोँइछ भर्न महिलाको भीड लागेको छ। प्रसादी अर्पण गर्न लामो लाइन लागेको छ। कोरोना संक्रमणको जोखिम भए पनि हजारौँको संख्यामा खोँइछ भर्न महिला जम्मा भएका छन्।
राजदेवी मन्दिरमा प्रत्येक वर्ष झै यस वर्ष पनि खोँइछ भर्न महिलाको भीड लागेको हो। मिथिलामा छोरीको बिदाई गर्नुभन्दा पहिले खोँइछ दिने परम्परा रहेको पण्डित मदन झाले बताए। श्रीमानको दीर्घायुको लागि महिला खोँइछ भर्ने गर्छन।