काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको महान् चाड दसैंका अवसरमा दिएको शुभकामना सन्देशमा निशान छाप गलत प्रयोग गरेका छन्।
ओलीले आफ्नै तस्बिर, हस्ताक्षर र आफ्नै ट्विटमार्फत सार्वजनिक गरेको शुभकामना सन्देशमा पुरानै निशान छाप प्रयोग गरिएको छ।
उनका प्रेस सल्लाहकारले पनि उक्त शुभकामना सेयर गरेका छन्। देशको प्रधानमन्त्रीले प्रयोग गर्ने निशान छाप 'भूलवस' भएको हुनसक्ने अनुमान गर्न नसकिने सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले टिप्पणी गरेका छन्।
संसद्को तल्लो सदन प्रतिनिधिसभाले निशान छापमा नेपालको नयाँ नक्साको आकृति राख्न दर्ता गरिएको विधेयक गत जेठ ३१ मा पारित गरेपछि नेपालको निशान छापमा लिम्पियाधुरा, लिपुलेकसहितको नयाँ नक्सा समेटिएको छ।

तर ओलीले दिएको शुभकामना सन्देश कार्डमा पुरानै नक्सा भएको निशान छाप छ।
ओलीले केही दिनअघि पाठ्यक्रम विकास केन्द्रले सार्वजनिक गरेको पुस्तक (जसमा लिपुलेक, लिम्पियाधुरा नेपालमा पर्ने कुरा उल्लेख भएको) बिक्री वितरणमा समेत रोक लगाएका थिए।
बुधबार राति मात्रै नेपाल आएका भारतीय गुप्तचर संस्था 'रअ'का प्रमुख सामन्त गोयललाई गोप्य भेटवार्ता गरेको विषय पनि विवाद र चर्चामा छ। लगत्तै दसैं शुभकामनामा ओलीले प्रयोग गरेको निशान छाप अर्थपूर्ण भएको जानकारहरु बताउँछन्।