आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमितप्रति संघ अनुदार बनेकै हो त ? मुख्यमन्त्री भन्छन्– सरकार बदनाम हुनु हुँदैन

कोरोना संक्रमितप्रति संघ अनुदार बनेकै हो त ? मुख्यमन्त्री भन्छन्– सरकार बदनाम हुनु हुँदैन

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले संक्रमितको सशुल्क उपचार गर्ने विषयमा सामाजिक विकास मन्त्री नरदेवी पुनले खबरै पाएकी छैनन्।
 |  शुक्रबार, कात्तिक ७, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक ७, २०७७

पोखरा– कोरोना परीक्षण र उपचारमा संघ सरकारले हात उठाए पनि प्रदेश सरकार यसमा उदार देखिए। गण्डकी प्रदेश सरकारले त मन्त्रिपरिषदको बैठक नै बसेर संक्रमितको निःशुल्क उपचार र कोरोना परीक्षण पहिलाको जस्तै निःशुल्क हुने निर्णय गर्यो। प्रदेशले गरेको यो निर्णयको सर्वत्र प्रशंसा भयो। 

प्रदेशको प्रशंसा भइरहँदा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले जारी गरेको एउटा सूचना सार्वजनिक भयो। गण्डकी प्रदेशभित्रकै सबैभन्दा ठूलो सरकारी अस्पतालले कोरोना संक्रमितले आफ्नो खर्च स्वयं व्यहोर्नुपर्ने भन्दै सूचना निकालेपछि प्रदेश सरकार निरीह भएको भन्दै आक्रोश मिश्रित प्रतिक्रियाले सामाजिक सञ्जाल भरिए। 

संघ सरकार मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले कात्तिक ४ देखि लागु हुने गरी सम्पूर्ण खर्च बिरामी आफैले व्यहोर्नुपर्ने जनाएको हो। खाजाखानाको व्यवस्थापन गर्न असमर्थ भए पहिल्यै धरौटी राख्नुपर्ने अस्पतालले जनाएपछि सर्बसाधारण आक्रोशित भएका हुन्।  

प्रदेशको खबर अस्पताल पुगेको छैन 

‘प्रदेश सरकारको निर्णय आयो। तर हामीले उपचारमा गरेको खर्च माग्यौं भने केन्द्र सरकारले दिँदैन,’ अस्पतालका एक अधिकारीले भने, ‘अस्पतालले खर्च व्यहोर्न सक्ने अवस्था छैन। प्रदेशले हामी दिन्छौं पनि भनेको छैन। कसरी निशुल्क उपचार गर्ने ?’ प्रदेश सरकारले समन्वय गरे निशुल्क उपचार गर्न कुनै समस्या नहुने ती अधिकारीले बताए। 

लक्षण नभएका बिरामीले प्रतिदिन २ हजार, सामान्य लक्षण भएका संक्रमितले प्रतिदिन ३५ सय, मध्यम जटिल बिरामीले ७ हजार र जटिल बिरामी अस्पताल भर्ना हुँदा दिनको १५ हजार रुपैयाँ तिर्नुपर्नेछ। 

विभागीय मन्त्रीलाई थाहै छैन 

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले संक्रमितको सशुल्क उपचार गर्ने विषयमा सामाजिक विकास मन्त्री नरदेवी पुनले खबरै पाएकी छैनन्। अस्पतालले निकालेको सूचनाबारे सुनाउँदा उनले कोरोना संक्रमितको उपचारमा समन्वय गर्ने बताइन्।

‘प्रदेश सरकारबाट निर्णय गर्छौं। अस्पतालसँग पनि सल्लाह गर्छौं,’ उनले भनिन्, ‘बिरामी भएको छ, अनेक टेन्सन छ। त्यहीँमाथि पैसा खोज्ने टेन्सन दिनु हुँदैन।’ 

संघ सरकार बदनाम हुनु हुँदैनः मुख्यमन्त्री गुरुङ 

प्रदेशका मुख्यमन्त्रीले पृथ्वीसुब्बा गुरुङले संघ मातहतमा रहेको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल प्रदेश मातहत आउनुपर्ने सुरुदेखि नै लबिङ गर्दै आएका हुन्।

प्रदेश मातहत १ हजार संख्याको सुविधासम्म अस्पताल बनाउने प्रतिबद्धता जनाएका उनले यही अस्पतालाई स्तरोन्नति गर्ने सोच पनि बनाएका थिए। तर उनको प्रयासले सार्थकता पाएन। अहिले गण्डकी प्रदेशले आफ्नै मेडिकल कलेज सञ्चालनको निर्णय गरिसकेको छ। 

त्यसो त उक्त अस्पतालसँगको द्वन्द्व यो पहिलो भने होइन। पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र प्रदेश सरकारबीच कोरोना संक्रमितको उपचार गर्ने विषयमा सुरुआतदेखि नै मनमुटाव रहँदै आएको छ। अन्य बिरामीलाई सेवा प्रवाहमा समस्या हुने भन्दै अस्पतालका अधिकारीहरु आइसोलेसन बनाउन नहुने पक्षमा थिए।

अन्य खाली ठाउँमा संक्रमितको व्यवस्थापन गर्न अस्पतालले सुझाएको थियो। तर प्रदेश सरकारले पश्चिमाञ्चलबाहेक अरु विकल्प देखेन। केन्द्र सरकारले नै डेडिकेटेड अस्पताल घोषणा गरेपछि प्रदेशले अरु विकल्प खोजेन। क्षेत्रीय अस्पतालको आइसोलेसन संक्रमितले भरिएपछि साउन अन्तिमदेखि बल्ल प्रदेश मातहतको सरुवा रोग अस्पतालमा संक्रमितको उपचार थालिएको थियो।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्रदेश सरकारसँग समन्वय नै नगरी वक्तव्यवाजी गरेकामा मुख्यमन्त्री गुरुङ रुष्ट छन्। पोखरामै भए पनि संघ मातहत रहेको प्रतिष्ठानले हतार गरेर सूचना निकालेको प्रतिक्रिया उनले दिए। ‘संघले रकम नदिए पनि प्रदेश सरकारले नै जोहो गरेर निःशुल्क परीक्षण र उपचारको प्रवन्ध मिलाउँछौं,’ उनले नेपाल समयसँग भने, ‘हामीले त क्याबिनेटबाटै निर्णय गरिसकेका छौं।’ प्रदेश मातहत रहेका अस्पताल, क्वारेन्टिन, र प्रयोगशाला  निःशुल्क उपचार र परीक्षण गरिरहने उनले बताए। 

संघ सरकार पनि नागरिकको उपचार गर्ने दायित्वबाट पछि हट्न नहुने उनी बताउँछन्। अहिले काठमाडौंमै रहेका मुख्यमन्त्री गुरुङले यो विषयमा आफूले प्रधानमन्त्री र मन्त्रीहरुसँग पनि कुरा गर्ने प्रतिक्रिया दिए। 

गण्डकीमा ५९ को मृत्यु 

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५९ पुगेको छ। बिहीबार कास्की र तनहुँका १–१ जनाको मृत्यु पुष्टि भएको छ। तनहुँको व्यास नगरपालिका १ का ६८ वर्षीया महिला र कास्कीको पोखरा महानगरपालिका १२ का ६७ वर्षे पुरुषको बिहीबार मृत्यु पुष्टि भएको हो। 

कास्कीका पुरुषको होम आइसोलेसन र तनहुँकी महिलाको गण्डकी मेडिकल कलेजमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए। मृत्यु हुनेमा कास्कीका १७, नवलपुरका ११, तनहुँका १०, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना छन्। गण्डकीमा कोरोना संक्रमितको संख्या ६२ सय ६७ पुगेको छ। तीमध्ये ३७ सय ५८ जना निको भएका छन्। 

प्रकाशित: Oct 23, 2020| 00:53 शुक्रबार, कात्तिक ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।