वीरगंज- पर्सामा नेकपा कार्यकर्ताबीच भएको झडपको विषयलाई लिएर पूर्व सांसद राजकुमार गुप्तासहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पर्साको बिन्दवासिनी गाउँपालिकामा नगर कमिटीको सपथ ग्रहण कार्यक्रममा भएको झडपमा एकदर्जन कार्यकर्ता घाइते भएका छन् भने २ जना गम्भिर घाइते रहेका छन्।
आक्रमणमा पूर्व सांसद गुप्तासहित उनको घरबाट ८ जनालाई नियन्त्रणमा लिएको पर्साका प्रहरी नायब उपरीक्षक मनोजित कुँवरले बताए।
नेकपा पर्सा अध्यक्ष प्रभु हजारा र सचिव विजय महतोको समूहबीच सपथ ग्रहण कार्यक्रममै कुटाकुट भएको थियो। ८ जनालाई अनुसन्धानका लागि ल्याइएको प्रहरी नायब उपरीक्षक कुँवरले बताए।
घाइतेमध्ये नेकपा विन्दावासीनी गाउँपालिकाका पार्टी सचिव मुकेश चौरसियाको अवस्था चिन्ताजनक रहेकाले थप उपचारका लागि पानीटंकीस्थित न्यूरो हस्पिटलमा लगिएको छ।
अर्का गम्भीर अवस्थामा रहेका उत्तम तिवारीसहित घाइते हुनेहरु महाराज ठाकुर, रञ्जन ठाकुर, जयराम कुमार चौरसिया, राजेश कुमार लगायतको नारायणी अस्पतालमा उपचार भइरहेको नारायणी अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले जानकारी दिए।