काठमाडौं– सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताको रुपमा प्राप्त हुने दुई सय मिलियन अमेरिकी डलर अर्थात् २४ अर्ब बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ।
४ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए।
यस्तै सैनिक विशेष अदालतको अध्यक्ष पदमा अदालतको कामकाजसमेत गर्ने गरी उच्च अदालत, पाटनका न्यायाधीश लोहितचन्द्र शाहलाई तोक्ने निर्णय भएको छ।
त्यस्तै काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा २३ बमोजिमको पुनरावेदन समितिको अध्यक्षमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत, पाटनका न्यायाधीश माधवप्रसाद पोखरेललाई तोक्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए।
यस्तै रक्षा मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद् बैठकले नेपाली सेनाका महासेनानी दिपेशजंग शाहसमेत तीनजना महासेनानीहरूको बढुवा गरी पदस्थापन तथा सहायकरथी कृष्णमुरारी न्यौपानेसमेत पाँच सहायकरथीहरूको सरुवा गर्ने निर्णय गरेको छ।