काठमाडौं– नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ को संक्रमण जस्तो विषम अवस्थामा जनताको अभिभावकका रुपमा उभिनुपर्ने सरकारले झन् पीडा थप्ने काम गरेको आरोप लगाएका छन्।
उनले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन्।
‘म नेपाल सरकार र प्रधानमन्त्रीलाई कोभिड—१९ को परीक्षण र संक्रमित नागरिकले आफ्नो खर्चमा उपचार गर्ने भनी सरकारले गरेको अलोकतान्त्रिक र असंवैधानिक निर्णय तत्काल खारेज गरी नेपाली नागरिकको स्वास्थ्य परीक्षणदेखि संक्रमितको उपचारसम्मका सबै काम निःसर्त, भेदभाव बिना, निःशुल्क गर्ने व्यवस्था मिलाउन आग्रह गर्दछु,’ उनले भनेका छन्।
उनले अहिलेको विषम परिस्थितिमा जनताको जीवन कष्टकर भएको यथार्थतर्फ संवेदनशील भई जनताको हितमा काम गर्न पनि आग्रह गरेका छन्।
‘नेपाल सरकारले कोभिड–१९ को परीक्षण र संक्रमित नागरिकले उपचारसमेत आफ्नै खर्चमा गर्नुपर्ने भनी गरेको निर्णय निन्दनीय र लज्जास्पद छ’, विज्ञप्तिमा उल्लेख छ।
सरकार जनताप्रति संवेदनहीन, गैरजिम्मेवार, अनुत्तरदायी र कर्तव्य विमुख छ भन्ने देखिएको देउवाको भनाइ छ।
नेपालको संविधानले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने, आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित नगरिने, प्रत्येकलाई स्वास्थ्य सेवामा समान पहुँच हुने, सबै नागरिक कानुनको दृष्टिमा समान हुने, सामान्य कानुनको प्रयोगमा भेदभाव नगरिने र सबैलाई सम्मानपूर्वक बाँच्न पाउने अधिकार प्रत्याभूत गरेको छ।
आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्नु नागरिकको संवैधानिक एवं कानुनी हक भएको भन्दै देउवाले सरकारले कुनै सर्त बिना यसको कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
सरकारले जनताको हितविरुद्ध, लोकतान्त्रिक मूल्य, संवैधानिक र कानुनी व्यवस्थाविपरीत निर्णय गरी घोर अलोकतान्त्रिक चरित्रको प्रदर्शन र सर्वोच्च अदालतको पनि अपहेलना गरेको देउवाको आरोप छ।
‘कोभिड–१९ नियन्त्रणका सन्दर्भमा सरकार प्रारम्भदेखि नै गैरजिम्मेवार रह्यो। समयमा आवश्यक सामग्रीको आपूर्ति नगर्नु, परीक्षण, क्वारेन्टिन, आइसोलेसन सेन्टर, प्रयोगशाला, अस्पतालको व्यवस्थापन र विदेशमा रहेका नेपालीलाई इज्जतपूर्वक सुरक्षित घर फिर्तीमा उदासीन रहनु, व्यापक भ्रष्टाचार गर्नु सरकारको कुशासन, बेथिति र असफलताका उदाहरण हुन्,’ उनले भनेका छन्।
समयमा दिएका सुझावलाई पनि सरकारले वास्ता नगरेको भन्दै उनले महामारीको भयावह अवस्था उत्पन्न हुनुमा नेकपाको सरकार जिम्मेवार रहेको बताएका छन्।
देउवाले कोरोना भाइरस संक्रमणका कारणले ज्यान गुमाउनु सबैको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त पनि व्यक्त गरेका छन्। उनले सक्रिय संक्रमितको शीघ्र स्वास्थलाभको कामना पनि गरेका छन्।