काठमाडौं- प्रदेश १ सरकारले कोरोना भाइरस संक्रमितको निःशुल्क उपचार गर्ने घोषणा गरे पनि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने शुल्क लिएर मात्र उपचार गर्ने सूचना जारी गरेको छ।
प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका लागि भर्ना हुने संक्रमित बिरामीले अग्रिम रकम बुझाएछि मात्र उपचार प्रक्रिया अगाडि बढाइने सूचनामा उल्लेख छ। प्रतिष्ठानले संक्रमितलाई चार प्रकारले वर्गीकरण गरी उपचारको दररेट निर्धारण गरेको छ।
यसअघि प्रतिष्ठानमा संक्रमित बिरामीको निःशुल्क उपचार हुँदै आएको थियो। प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना हुनका लागि संक्रमित बिरामीले कम्तिमा ६ हजार देखि ६० हजारसम्म धरौटी रकम अग्रिम बुझाएपछि मात्र भर्ना हुन पाउने निर्देशक गौरीशंकर साहले जारी गरेको सूचनामा उल्लेख छ। भर्ना भएका संक्रमित बिरामीले दैनिक २ हजारदेखि १५ हजार रुपैयाँ प्रतिदिन भुक्तानी गर्नु पर्नेछ।
प्रतिष्ठानले संक्रमितको उपचारका लागि चार प्रकारमा वर्गीकरण गरेको छ। कुनै पनि लक्षण नदेखिएका बिरामीले प्रतिष्ठानमा भर्ना हुनुअघि नै ७ हजार धरौटी बुझाउनुपर्ने र दैनिक २ हजार शुल्क तिनु पर्नेछ।
हल्का लक्षण देखिएका संक्रमितले १२ हजार धरौटी बुझाउनुपर्ने र दैनिक ३ हजार ५ सय शुल्क तिर्नु पर्नेछ। मध्यम लक्षण भएका संक्रमितले ३५ हजार धरौटी र दैनिक ७ हजार शुल्क तिर्नु पर्नेछ। गम्भीर लक्षण देखिएका संक्रमितले ६० हजार धरौटी र प्रतिदिन १५ हजार शुल्क तिर्नुपर्ने निर्णय गरिएको अस्पतालले जनाएको छ।