काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रेस नोट जारी गर्दै रअ प्रमुख गोयलले शिष्टाचार भेट गरेको जानकारी दिएका छन्।
‘भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभएको छ,’ उनले भनेका छन्।
गोयल भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेको उनले प्रस्ट पारेका छन्।
भेटका क्रममा गोयलले नेपाल–भारतबीचको मैत्री सम्बन्ध खलबलिन नदिने बताएका थिए।
त्यस्तै अहिले देखिएका समस्याको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेको थापाले जारी गरेको प्रेस नोटमा भनिएको छ।