काठमाडौं- जिल्ला प्रहरी कार्यालय चितवनले एक हजार दरका ३२१ थान नक्कली नोटसहित एकजनालाई पक्राउ गरेको छ।
राप्ती नगरपालिका ५ भण्डारा बजारमा सामान किन्ने क्रममा नक्कली पैसा दिई मानिस फरार रहेको खबरपछि प्रहरीको टोली पुगेको थियो।
ईलाका प्रहरी कार्यालय भण्डाराबाट प्रहरी निरीक्षक राजिव गिरीको कमाण्डमा खटिएको टोलीले खोजतलास गर्ने क्रममा एक हजारका १२ थाने नोटसहित मकवानपुर राक्सीराङ् ८ का २६ वर्षीय जितबहादुर लोप्चनलाई नियन्त्रणमा लिएको हो।
अनुसन्धानका क्रममा उनले कारोबार गरेको एक होटल र खाजाघरबाट ७ थान नोट, मकवानपुर राक्सीराङ गाउँपालिका ८ हलिजेस्थित उनको घरभित्र मकैको खलियामा प्लास्टिकले बेरेर लुकाइछिपाइ राखेको अवस्थामा ३०२ थान नोट बरामद गरिएको हो।
उनलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।