सुर्खेत– जाजरकोटमा प्रशासनले सार्वजनिक यातायातको भाडादर सार्वजनिक गरेको छ। यात्रुबाट यातायात व्यवसायीहरुले मनपरी रुपमा भाडा असुल्न थालेपछि जिल्ला प्रशासन कार्यालयले भाडादर सार्वजनिक गरेको हो।
व्यवसायीले मनोमानी रुपमा भाडा लिने गरेको जनगुनासो बढेपछि नयाँ भाडा कायम गरिएको प्रमुुख जिल्ला अधिकारी चेतराज बरालले जानकारी दिए। जिल्लामा दशैँतिहारको मौका छोपी व्यसायीहरुले चर्को भाडा असुल्दै आएका थिए। यात्रुलाई ठगिन नदिन भाडादर सार्वजनिक गरिएको बरालको भनाइ छ ।
भाडादर अनुसार खलंगाबाट काठमाडौंसम्मको एक हजार पाँच सय ४० रुपैयाँ, खलंगा–नेपालगन्जमा ठूलो गाडीको पाँच सय ५० र सानो गाडीको ६ सय, खलंगा–सुर्खेत ठूलो गाडी चार सय ५० र सानो गाडीको पाँच सय निर्धारण गरिएको छ। खलंगादेखि रिम्नासम्मको एक सय ५०, खलंगादेखि पिपेसम्म ६०, खलंगादेखि कालिमाटीसम्मको तीन सय ५० भाडा कायम भएको छ ।
त्यस्तै खलंगादेखि छेडाचौरसम्मको एक सय ५० रुपैयाँ र खलंगा–पाँचकटिया तीन सय पचास रुपैयाँ भाडा कायम गरेको छ । पश्चिम छेडाबजारदेखि थलहसम्म तीन सय, दल्लीदेखि तल्लुसम्म तीन सय ५० र छेडाचौरदेखि सुवानाउलीसम्म चार सय रुपैयाँ भाडादर तोकिएको छ ।
त्यस्तै व्यवसायीले टिकटमा यात्रुको विवरण खुलाउनुपर्ने, गाडीमा भाडा दर लेख्नुपर्ने, सार्वजनिक ठाउँ तथा टिकट बिक्री स्थलमा भाडा दरको सूचनापाटी राख्नुपर्ने प्रशासनले जनाएको छ । तोकिएको भाडादर लागू भए–नभएको जाँचबुझ गर्न प्रशासन, ट्राफिक प्रहरी, सम्बद्ध व्यवसायी, नागरिक समाज लगायतले अनुगमन गर्ने छन् ।
जिल्ला भित्रका रुट परमिट नलिएका र निजी सवारी साधनलाई यात्रु बोक्न नदिने व्यवस्थालाई कडाइका साथ लिनुपर्ने छ । जाजरकोटमा दुई वर्षपछि नयाँ भाडादर निर्धारण भएको हो । यसअघि २०७५ असोज ११ गते जाजरकोट भाडादर लागु गरिएको थियो ।