काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ।
नेपाली सेनाको पृतनापति सम्मेलन सकिएको दोस्रो दिन नै सुरक्षा परिषद्को बैठक बसेको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा अहिले बालुवाटारमा बैठक बसिरहेको छ।
राष्ट्रिय सुरक्षा परिषदमा रक्षामन्त्री, गृह, परराष्ट्र, अर्थमन्त्री, मुख्य सचिव र प्रधानसेनापति सदस्य रहन्छन्। रक्षा मन्त्रालयका सचिव सदस्य–सचिव हुने व्यवस्था छ।
बैठकमा मुलुकमा शान्ति सुरक्षाको अवस्था र अहिलेको विकसित घटनाक्रमबारे छलफल हुने भनिएको छ। बैठकमा कोभिड–१९ को बढ्दो संक्रमण र यसबाट हुने सुरक्षा चुनौती लगायत प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहको गतिविधिबारे छलफल हुने बताइएको छ।
नेपाली सेनाको मंगलबारमात्रै सम्पन्न भएको पृतनापतिहरुको सम्मेलनले आगामी दिनमा कोरोनाको संक्रमण बढ्ने र त्यसबाट थप चुनौती हुने लगायत विप्लव समूह थप चुनौतीका रुपमा देखिन सक्ने निष्कर्ष निकालेको थियो।