विराटनगर– श्रम कार्यालय विराटनगरले निजी विद्यालयका शिक्षकहरुलाई तलव उपलब्ध गराउने निर्देशन दिएको छ।
शिक्षकले चैतदेखिको पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालयमा उजुरी दिएका थिए। पीडित शिक्षकहरुको उजुरीपछि कार्यालय प्रमुख वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलले शिक्षकहरुले पाउनुपर्ने सुविधा नपाए सञ्चालक तथा पदाधिकारीहरुलाई कानुन अनुसार कारवाही गरिने बताएका छन्। उनले शिक्षकलाई तलब नदिए निजी विद्यालय तथा सञ्चालकको बैंक खाता रोक्काको प्रकृया सुरु गरिने बताएका छन्।
श्रम ऐन २०७४ तथा श्रम नियमावली २०७५ ले तोकेको सम्पूर्ण सेवा सुविधाहरु तुरुन्त उपलब्ध गराउन भनिएको सञ्जेलले बताए। लामो समयदेखि तलब सुविधा नपाएपछि संस्थागत विद्यालयहरुको छाता संस्था प्याब्सन मोरङको मूल ढोकामा शिक्षकहरुले तालाबन्दी गरेका छन्।
विद्यालय सञ्चालन नभएको कारण देखाउँदै निजी लगानीमा संचालित संस्थागत विद्यालयमा कार्यरत शिक्षकहरुले लामो समयदेखि तलब सुविधा नपाएको भन्दै श्रम कार्यालयमा उजुरी दर्ता गरि तालाबन्दी गरिएको संस्थागत विद्यालय शिक्षक यूनियन मोरङका अध्यक्ष मनोज खनालले बताए ।
आफ्ना समस्याका बिषयका सरकारले बेवास्ता गरेको र प्याब्सनले समेत अपमानित गर्नेगरी सर्कुलर गरेको भन्दै उनीहरुले प्याब्सन मोरङको कार्यालयमा तालाबन्दी गरेको उनले बताए । प्याब्सनको केन्द्रीय अध्यक्ष भएको जिल्लामै शिक्षकलाई अपमानित गरिएको खनालले बताए ।
शिक्षकहरुले गत बर्षको बाँकी बक्यौतासहित २०७७ वैशाखदेखि असोज महिनासम्मको खाइपाई आएको तलब, भत्ता र दशैं पेश्की लगायत पाउनुपर्ने माग गरेका छन् ।