काठमाडौं– राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीले पुनर्जीवन प्राप्त गरेको बताएका छन्।
रानीपोखरी उद्घाटन कार्यक्रममा उनले ०७२ सालको भूकम्पले भत्काएको रानीपोखरीको पुरानै शैलीमा निर्माण गरिएको बताए। उनका अनुसार रानीपोखरी पुनर्निर्माणमा २८ करोड खर्च भएको छ।
विशिष्ट कार्यविधि अपनाउँदै रानीपोखरी पुनर्निर्माण सम्पन्न भएको उनले बताए। रानीपोखरीको पुनर्निर्माणलाई रानीपोखरीमा मात्रै सीमित नराखी भृकुटीमण्डप, रत्नपार्क, खुलामञ्च, टुँडीखेल, सहिद गेट र दशरथ रंगशालासँग एकीकृत गर्दै वृहत्तर गुरुयोजनाको खाका तयार गरिएको उनले जानकारी दिए।
मंसिर महिनाभित्रै सिंहदरबारको मुख्य भागको पुनर्निर्माण सकेर प्रधानमन्त्री कार्यालय सार्ने योजना रहेको उनले बताए। साथै धरहराको पनि १७ औँ तलाको निर्माण कार्य भइसकेकाले पुसभित्रै सबै निर्माण सक्नेगरी काम गरेको ज्ञवालीले जानकारी दिए।