काठमाडौं– नेपाली सेनाले कोभिड–१९ को महामारी आगामी दिनमा बढ्दै जाने पूर्वानुमान गर्दै पृतनापतिहरुलाई थप आवश्यक पूर्वतयारी गर्न निर्देशन दिएको छ।
दुई कात्तिकदेखि शुरु भएको पृतनापति समन्वयात्मक बैठकको मंगलबार समापन गर्दै प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले पृतनापतिहरुलाई आवश्यक पूर्व तयारी गर्न निर्देशन दिएका हुन्।
वर्तमान प्रवृत्तिको विश्लेषण र जाडो मौसमका कारण पनि संक्रमण बढ्दै जाने देखिएकाले सम्बन्धित सरोकारवाला निकायहरुसँगको निरन्तर समन्वयमा आवश्यक पूर्वतयारी गर्नको लागि निर्देशन दिएका हुन्।
थापाले महामारीको समयमा आफ्नो फौज र तिनका परिवारहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान पुर्याउन पनि भनेका छन्।
‘आफ्नो फौज र उनीहरुका परिवारमा संक्रमण भइहालेमा उचित उपचारको व्यवस्था मिलाउन र तिनको हौसला कायम राख्न तथा राख्न लगाउन समेत सबैलाई निर्देशित गर्दछु,’ थापाले निर्देशनमा भनेका छन्।
सम्मेलनमा भएको प्रस्तुतिकरण र छलफलबाट निस्किएका निचोडहरुले भविष्यको लागि महत्वपूर्ण मार्गदर्शन गर्ने थापाको विश्वास छ।
नेपाली सेनाको कार्यशैलीमा आएको सकारात्मक परिवर्तनले सङ्गठनलाई पद्धति र प्रणालिमा आधारित बनाउन थप बल पुर्याएको थापाले प्रष्ट पारे।
समन्वयात्मक बैठकमा जङ्गी अड्डाका विभिन्न महानिर्देशनालय, निर्देशनालय, विभाग र कार्यालयले आ–आफ्नो विभागको जिम्मेवारी सम्बन्धि विषयहरुको कार्य प्रगतिको समिक्षा गरेका थिए।
भर्चुअल माध्यमबाट भएको बैठकमा सहभागी पृतनापतिहरुले आ–आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थिति र कोभिड–१९ बाट सिर्जित अवस्था तथा त्यसबाट आइपन सक्ने सुरक्षा चुनौतीहरु र अपनाउनुपर्ने कार्यनीतिहरु प्रस्तुत गरेका थिए