धनगढी- धनगढी उपमहानगरपालिका–१२ जुगेडास्थित अस्थायी प्रहरी पोष्टका इञ्चार्ज असई गोविन्द विक र प्रहरी जवान रामबहादुर साउदको हत्या मटर तस्करी गर्नेहरुले गरेको खुलेको छ।
शनिबार राति धनगढी उपमहानगरपालिका–१०, मोहनाघाट भएर नेपालबाट भारततर्फ मटर तस्करी गरिरहेको बेला अवरोध गरेपछि प्रहरी सहायक निरीक्षक बिक र जवान साउदको हत्या गरेको पक्राउ परेकाहरुले प्रहरीलाई बयानका क्रममा खोलेका हुन्।
अस्थायी प्रहरी पोष्ट जुगेडामा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान राम बहादुर साउद सिमावर्ति क्षेत्रमा हुने अपराध एवं तस्करी नियन्त्रण गर्ने उद्देश्यले जुगेडाको दक्षिणी क्षेत्रमा नियमित गस्ती गर्ने क्रममा धनगढी उप–महानगरपालिका–१० स्थित मोहना नदीबाट अन्दाजी चार सय मिटर उत्तरमा सिमामा अबैध सामानहरुको तस्करी गरी रहेका तस्करहरुको समूहलाई नियन्त्रणमा लिने क्रममा सो तस्करहरुको समूहले योजनाबद्ध रुपमा धारिलो हतियारले प्रहार गरी दुबै जनाको हत्या गरेको प्रहरीले बताएको छ।
हत्यापछि घिसार्दै झण्डै चार सय मिटर दक्षिणमा नेपाल भारत सिमामा रहेको मोहना नदीमा लगेर फालेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।