काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद समाधान गर्न पार्टीका दुई अध्यक्षले चार बुँदे सहमति गरेका छन्।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको छलफलमा सहमति जुटेको हो।
कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिने सहमति जुटेको छ।
आजको भेटमा कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने, प्रमुख सचेतकमा शाहले नियुक्त गरेकी सीता नेपालीको निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने र अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने विषयमा सहमति भएको प्रेस सल्लाहकार थापाले प्रष्ट पारेका छन्।
यस्ताे छ सहमति
१. कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हटाउने निर्णय बदर गर्ने।
२. प्रमुख सचेतकमा उहाँद्वारा नियुक्त साीता नेपालीकाे निर्णय बदर गरी पूर्ववत् रूपमा सचेतकमा कायम गर्ने।
३. मुख्यमन्त्रीविरूद्द दर्ता भएकाे अविश्वास प्रस्ताव फिर्ता लिने, र
४. अन्य विषयहरूमा सल्लाह र समझदारीका साथ आवश्यक निर्णय लिने ।
यसैबीच, पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले त्यस्तो कुनै सहमति नभएको प्रष्ट्याएका छन्।
दाहालका तर्फबाट उनका प्रेस संयोजक विष्णु सापकोटाले प्रेस विज्ञप्ति जारी गर्दै आज बिहानको छलफलमा कुनै सहमति नभएको प्रष्ट पारेका हुन्।
‘प्रधानमन्त्री ओलीसँग चार बुँदे सहमति भएको भन्ने कुरामा कुनै सत्यता नरहेको र बिहान अध्यक्षले आफ्ना कुरा राखेर हिँड्नुभएको हो,’ सापकोटाले भनेका छन्।
नेपाल समयसँगको कुराकानीमा पनि उनले बिहान अध्यक्षद्वयको छलफलमा कुनै सहमति नभएको र अध्यक्ष दाहालले आफ्नो धारणा राखेको सापकोटाले बताएका थिए।
दाहालले बिहानको छलफलमा संसदीय दलमा देखा परेको समस्या समाधान गर्न त्यहीँको पार्टी कमिटी र सरकारलाई दिन प्रस्ताव गरेका थिए। तर, त्यसमा ओलीले कुनै प्रतिक्रिया नदिएपछि छलफल सकिएको थियो।