काठमाडौं– ललितपुरको महालक्ष्मी नगरपालिका क्षेत्रबाट सोमबार बेलुकी अपहरणमा परेकी आठ वर्षीया बालिकाको प्रहरीले तीन घण्टामा सकुशल उद्वार गरेको छ। अपहरण गरी बन्धक बनाइराखेको अवस्थामा प्रहरीले बालिकाको उद्वार गरेको हो।
सोमबार बेलुकी साढे ७ बजेतिर बारा सिम्रौनगढ नगरपालिका घर भई हाल महालक्ष्मी नगरपालिका–४ मनकामना बस्ने गुड्डी साहकी ८ वर्षकी छोरी अनुखा साह खेलिरहेको समयमा अपरिचित व्यक्तिले साइकलमा राखेर लगेका थिए।
महानगरीय प्रहरी वृत्त सातदोबाटोमा यस विषयमा जानकारी आएपछि तत्कालै प्रहरी परिचालन भएको थियो। प्रहरी नायब उपरीक्षक मित्रबन्धु शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले प्रविधि समेतको प्रयोग गरी खोजतलाश गर्ने क्रममा राति साढे १० बजे ललितपुर महानगरपालिका–२९ हरिसिद्दीस्थित सिता परियारको कोठामा बन्धक बनाई राखेको अवस्थामा फेला पारेको हो।
अपहरण गरी शरीर बन्धक गरी राख्ने कार्यमा मुख्य भूमिका निर्वाह गर्ने तीन जनालाई पनि तत्कालै प्रहरीले पक्राउ गरेको थियो।
पक्राउ पर्नेमा सर्लाही हरिवन नगरपालिका–८ बासटोल घर भई ललितपुर महानगरपालिका–२९ हरिसिद्दी बस्ने ३० वर्षीय राजु कार्की,
काभ्रे नमोबुद्ध नगरपालिका– ८ बुझाकोट घर भई ललितपुर नै बस्ने २३ वर्षीया सिता परियार र धनुषा धारापानी गाउँपालिका–२ घर भई ललितपुर नै बस्ने ४० वर्षीय कृष्ण तोलामी छन्।
तीनै जनालाई महानगरीय प्रहरी वृत्त सातदोबाटोको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ।