काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना संक्रमितको उपचारका लागि आवश्यक औषधि र उपकरण अभाव हुन नदिनेगरी सरकारले व्यवस्थापन गरेको बताएका छन्।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्री ढकालले देशभर २६ सय आईसीयू तयारी अवस्थामा रहेको र ४ सय आईसीयू तयार हुँदै गरेको जानकारी दिए।
साथै कोरोना संक्रमितको शव व्यवस्थापनका सन्दर्भमा प्रचलित कार्यविधिमा कुनै परिमार्जन नगरिएको बताएका छन्। मन्त्री ढकालले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाले नै गर्दै आएको र त्यसमा कुनै परिमार्जन नभएको बताए।
तर जनताको रिति–रिवाज, संस्कार र परम्पराअनुसार शव व्यवस्थापन गर्ने मागलाई सम्बोधन गर्न र भौगोलिक विकटतालाई समेत ध्यान दिई शव व्यवस्थापन थप सहज बनाउन कार्यविधिमा केही व्यवस्था समावेश गरी परिवर्तन गरिएको बताए।
मन्त्री ढकालले देशभर ३ हजार ५ सय वटा अक्सिजन र मोनिटरसहितको हाई डिपेन्डेन्सी युनिट तयार पार्ने काम भइरहेको बताए।