काठमाडौं– चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख सोङ ताओले चीनले अघि सारेको बीआरई (बेल्ट रोड इनिसिएटिभ) परियोजना नेपालको सहयोगी बन्न सक्ने बताएका छन्। उनले परियोजना नेपालको समृद्धिमा फलदायी हुने बताए।
चिनियाँ कम्युनिस्ट पार्टीको इन्टरनेसनल डिपार्टमेन्ट कम्युनिस्ट पार्टी अफ चाइना विभागको संयोजनमा भएको भर्चुअल गोष्ठीमा उनले यस्तो विचार व्यक्त गरेको फ्रेन्ड्स अफ सिल्क रोड नेपालका महासचिव एवम् नेकपाका केन्द्रीय सदस्य आनन्द पोखरेलले जानकारी दिए।
नेपाल बीआरआई परियोजनाको पक्ष राष्ट्र भएकाले त्यसैसँग सम्बन्धित विषयमा चिनियाँसँग छलफल भएको हो।
‘परियोजना हिमालयपार ऊर्जा र यातायात विस्तारमा सहयोगी बन्छ,’ सोङ ताओको भनाइ उधृत गर्दै पोखरेलले भने।
चिनियाँ पक्षले बीआरइका विषयमा नेपालका राजनीतिक दलहरुको समान धारणा हुनुपर्ने बताएका थिए।
गोष्ठीमा राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई, नेकपा मालेका महासचिव सीपी मैनाली, राप्रपाका कृष्णभक्त जोशीलगायत सहभागी थिए।
नेपालका तर्फबाट बोल्ने वक्ताहरुले पनि नेपाल–चीन सम्बन्धका बारेमा आफ्नो धारणा व्यक्त गरेका थिए। गोष्ठीमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश पठाएका थिए।