धनगढी- कैलालीको धनगढीमा प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी जवानको हत्या आरोपमा पक्राउ परेका सात जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीले आज पत्रकार सम्मेलन गर्दै धनगढी उप–महानगरपालिका–१२, जुगेडास्थित अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका सात जनालाई सार्वजनिक गरेको हो।
प्रहरीले धनगढी उप–महानगरपालिका–१० का १० का ३१ वर्षीय पंकु भनिने रोहित राना, २० वर्षीय राजेन्द्र राना, ३० वर्षीय चोर भनिने सुरेश राना, २५ वर्षीय गब्बर भनिने राजकुमार राना, वर्ष २२ को रामनिवास राना, २९ वर्षीय टल्लु भनिने दलराम राना र वडा नम्बर ११ बस्ने २५ वर्षीय गोपाल भनिने रामगोपाल राना छन् ।
उनीहरुले नेपालबाट भारत सामान तस्करी गर्ने क्रममा प्रहरीले अवरोध पुर्याएपछि हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । प्रहरीले अनुसन्धानका लागि १६ जनालाई नियन्त्रणमा लिएकोमा सात जनाको संलग्नता देखिएको जनाएको छ।
गत शनिबार राति नियमित गस्तीमा खटिएको समयमा अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज बिक र प्रहरी जवान वेपत्ता भएका थिए ।
रातको १० बजेपछि सम्पर्कबिहीन भएका उनीहरु बिहानसम्म समेत नआएपछि खोजी कार्य अगाडि बढाइएको थियो ।
खोजी गर्ने क्रममा प्रहरी सहायक निरीक्षक बिकको शव आइतबार बिहान धनगढी उप–महानगरपालिका–१० स्थित नेपाल–भारत सीमा स्थित मोहना नदीमा भेटिएको थियो। घाँटीमा धारिलो हतियार प्रहार गरी विभत्स हत्या गरेको अवस्थामा बिक भेटिएको मोहना नदी क्षेत्रमा मंगलबार प्रहरी जवान साउदको शव पनि फेला परेको थियो।
प्रहरीका अनुसार बिकको शव भेटिएको स्थानदेखि दुई सय मिटर तल मोहना नदीमा उनको शव भेटिएको थियो ।
उनीहरु सवार बा ५८प ५२८४ नम्बरको मोटरसाइकल भने घटनास्थलदेखि करिब साढे दुई किलोमिटर टाढा भेटिएको थियो भने प्रहरी सहायक निरिक्षक बिकले बोकेको पेस्तोल मंगलबार मोहना नदीमै भेटिएको छ।