काठमाडौं– कतारमा कार्यरत आप्रवासी घरेलु श्रमिक महिलाले आफूहरू यौन दुर्व्यवहारको सिकारमा परेको पीडा व्यक्त गरेका छन्।
ती महिलालले अत्यधिक कामको बोझ, विश्रामको अभाव, दुर्व्यवहार र अपमानजनक व्यवहार सहनुपरेको बताएको एम्नेस्टी इन्टरनेसनलले जारी गरेको प्रतिवेदनमा उल्लेख छ। यसबाट उनीहरू विक्षिप्त हुने अवस्थामा धकेलिएका छन्।
पीडित महिललो आफूहरूमाथि रोजगारदाता वा तिनका पाहुना आफन्तबाट यौन दुर्व्यवहार भएको बताएका छन्।
यसमा यौन उत्पीडनदेखि अवाञ्छित तरिकाले शरीर छुने र बलात्कार गर्नेसम्मका घटना छन् रोजगारदाताले बदला लिने डरले गर्दा धेरै महिलाहरूले आफूले प्रहरीमा उजुरी दिन नसकेको बताए।
सन् २०१७ मा कतारले घरेलु श्रमिक ऐन लागू गरेको थियो। ऐनमा दैनिक कामको समयसीमा तोक्नुका साथै अनिवार्य विश्राम, हप्ताको एक दिन बिदा र तलबी बिदाको व्यवस्था छ।
अझै पनि महिलाले नियमित रूपमा दैनिक १४ घण्टाभन्दा बढी समय काम गरिरहेका छन्। त्यस्तै कतिपयले सातामा सातै दिन काम गर्नुपरेको छ भने कतिपयको रोजगारदाताले राहदानी जफत गरेका छन्।
यस्तै कपितयले उचित पारिश्रमिक पाएका छैनन् भने कतिपयले रोजगारदाताले आफूमाथि अपमान गरिएको, झापड हानिएको र थुकेको समेत जनाएका छन्।
‘सन् २०१७ मा ल्याइएको घरेलु श्रमिक ऐन कतारमा श्रमिकअधिकार संरक्षणको सवालमा भएको एउटा अग्रगामी कदम थियो। दुःखद् के छ भने हामीले कुरा गरेको महिलाका अनुभवले यी सुधारलाई ठिकसँग कार्यान्वयन वा लागू नगरिएको स्पष्ट भएको छ’, एम्नेस्टीका आर्थिक, सामाजिक न्याय शाखाका प्रमुख स्टिभ कक्बर्नले भनेका छन्।
घरेलु श्रमिकहरूले दैनिक औसत १६ घण्टासम्म र हप्तैभर काम गरेको सुनाएको उनको भनाइ छ। उनले भनेका छन्, ‘कतारमा रोजगारदाताले घरेलु श्रमिकलाई मानिसभन्दा वस्तुका रूपमा व्यवहार गर्न पाउने प्रणाली विद्यमान रहेको चित्रण गर्दछ।’
कतारमा लगभग एक लाख ७३ हजार घरेलु आप्रवासी श्रमिकहरू छन्। पहिचानको गोपनीयताका लागि कसैको नाम सार्वजनिक नगरिएको एमनेस्टीले जनाएको छ।
४५ वर्षीया फिलिपिनी महिला रिनाले दिनमा दुई घण्टा मात्रै सुत्न पाएकाले आफू कार दुर्घटनामा परेको बताइन्।
“म सुत्नका लागि भनेर बिहान १ बजे गए तर ३ बजे मालिककी १७ वर्षीया छोरीले मलाई उठाइन् ररेड बुल किनेर ल्याइदिन अनुरोध गरिन्। बिहान ५ः३० बजेदेखि मैले गाडी धुँदै र बालबच्चालाई विद्यालयसम्म लैजाने तयारी गरी आफ्नो दैनिक कार्य सुरु गरैं। बेलुकी १० बजे गाडी भित्तामा ठोकाएँ।’
घरेलु श्रमिक ऐनले धेरैमा दैनिक १० घण्टा सम्म मात्र काम गर्ने समय निर्धारण गरेको छ। तर श्रमिकको सहमतिमा यो समयलाई विस्तार गर्न सकिने प्रावधान पनि उक्त कानुनमा छ।
अन्तर्वार्ता लिइएका कम्तीमा पनि २३ जना महिलाले कतारमा काम गर्दा आफूलाई पर्याप्त खान नदिएको र भोकै रहनुपरेको बताएको एमनेस्टीले जनाएको छ।
केही महिलाले कोचाकोच भरिएको कोठामा सुतेको बताएका छन्। केहीले त भुइँमा र एयर कन्डिसन नभएको कोठामा सुत्ने गरेका छन्।
एम्नेस्टी इन्टरनेसनलले कुराकानी गरेका ४० जना महिलाले आफूहरू शाब्दिक र शारीरिक दुर्व्यवहारमा परेका बताएका छन्।
ऐमेलीले भनिन्, ‘मलाई म्याडमले तँ राक्षस होस्, तेरो जिब्रो काटिदिन्छु भनिन्। म डराएँ। उनले मलाई ‘तलाई मारिदिन्छु’ भन्छिन्, जहिले अपशब्द मात्र प्रयोग गर्छिन्। म त काम गर्ने मान्छे न हुँ केही गर्न सक्दिनँ।’
१५ जना महिलाले रोजगारदाताबाट वा परिवारका सदस्यबाट थुक्ने, कुट्ने, लात्ताले हान्ने, मुक्का हान्ने, कपाल तान्ने जस्ता शारीरिक दुर्व्यवहार भएको बताएका छन्।
जोईले भनिन्, ‘ ‘म्याडमले सबैजना काम गर्नेहरूलाई कराउन थालिन्। हामी सबैलाई थुकिन् र मलाई फेरि थप्पड हानिन्। उनले यो भन्दा पहिले पनि मलाई ढाडमा खुट्टाले हिर्काएकी थिइन्।’
अधिकांश महिला जागिरबाट निकालिनुपर्ने डरले पीडा व्यक्त गर्न चाहँदैनन्।
जुलिया नामकी एक महिलाले भने आफूले भोगेका यौन दुर्व्यवहारको घटनाका सम्बन्धमा प्रहरीमा उजूरी गरिन्।
जुलियाका रोजगारदाताका छोराले एक दिन घरमा आएर काम गर्ने अर्की एक महिलालाई बलात्कार गर्ने प्रयास गरेका थिए।ती व्यक्तिले ती महिलालाई चुपचाप लगाउन पैसा दिने प्रस्ताव राखे तर उनीहरूले प्रहरीमा जाने निधो गरे।
मुद्दा हेर्ने प्रहरी अधिकारीले जुलिया र उनका साथीहरूलाई झुटो कथाहरू बनाएको आरोप लगाए र उजूरी रद्द गरिदिएको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा उल्लेख छ, ‘अरबी भाषामा लेखेको र उनीहरूले नबुझ्ने एउटा कागजमा हस्ताक्षर गर्न लगाइयो र त्यसको साटो रोजगारदाताले उनीहरूलाई घर फर्कने टिकट खरिद गरदिए।’
‘एम्नेस्टीले कुराकानी गरेका कोही पनि महिलाले आफूलाई दुर्व्यवहार गर्नेमाथि कारबाही भएको देखेनन्। कतार घरेलु श्रमिकलाई शोषणबाट संरक्षण गर्न चाहन्छ भने रोजगारदातालाई श्रमिकमाथिको दुर्व्यवहार सह्य हुने छैनन् भनेर कडा सन्देश दिनुपर्छ’, स्टिभ कक्बर्नले भने ।
एमनेस्टीले आवासीय घरेलु श्रमिकको रूपमा कतारमा कार्यरत १०५ महिलासँग कुराकानी गरेको थियो।