काठमाडौं- बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको बारेमा आज चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) र नेपालका राजनीतिक दलहरुबीच भर्चुअल छलफल हुने भएको छ।
छलफलमा वक्ताका रुपमा सहभागी हुन लागेका फ्रेन्ड्स अफ सिल्क रोड क्लबका महासचिव एवम् नेकपा केन्द्रीय सदस्य आनन्द पोखरेलले मध्यान्ह पौने १ बजेदेखि भर्चुअल छलफल सुरु हुने जानकारी दिए।
नेपाल बीआरआई परियोजनाको पक्ष राष्ट्र भएकाले त्यसैसँग सम्बन्धित विषयमा चिनियाँहरूसँग छलफल हुन लागेको हो।
उनका अनुसार इन्टरनेशनल डिपार्टमेन्ट कम्युनिस्ट पार्टी अफ चाइनाको संयोजनमा कार्यक्रम हुन लागेको हो। चीनका तर्फबाट विभागका प्रमुख सोङ ताओ र अन्य केही नेताहरुले सम्बोधन गर्ने छन्।
त्यस्तै नेपालका तर्फबाट नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, नेपाली कांग्रेसका तर्फबाट सहमहामन्त्री डा. प्रकाशशरण महत, जसपा नेता एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माले महासचिव सीपी मैनाली सहितका राजनीतिक दलका नेताहरुले सम्बोधन गर्ने तय भएको छ।
बीआरआई परियोजनाका बारेमा नेपालका राजनीतिक दलहरुको धारणा बुझ्न चिनियाँ पक्षले छलफल गर्न लागेको हो।
गत वर्ष चिीनियाँ राष्ट्रपतिको नेपालमा भएको राजकीय भ्रमणका क्रममा भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा पनि छलफल हुने बताइएको छ।