काठमाडौं– राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले पीसीआर परीक्षणको खर्च व्यक्ति आफैंले बेहोर्नुपर्ने जनाएको छ।
प्रयोगशालाले सूचना जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रको पत्रअनुसार कोरोना परीक्षण गर्नेले आफैले खर्च बेहोर्ने निर्णय भएको जनाएको हो ।
सरकारले आइतबार आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अपांगता भएका नागरिक, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मी लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीमा लक्षण भएमा मात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको थियो ।
तर, ती व्यक्तिहरुले पनि बिमा गरेको भए बीमा रकमबाट काटिने र अन्य सामान्य मानिसको उपचार आफैले गर्नुपर्ने बताएको थियो। सोही अनुरुप प्रयोगशालाले पनि परीक्षण गर्दा आफ्नै खर्चमा गर्नुपर्ने जनाएको छ।
सरकारले कात्तिक २ गतेदेखि लागू हुने उक्त निर्णय कार्यान्वयन गर्न भनेको छ ।