धनगढी- कैलालीकाे धनगढी उप महानगरपालिका-१२, जुगेडास्थित अस्थायी प्रहरी पोष्टका ईन्चार्ज प्रहरी सहायक निरीक्षक गोविन्द बिकको हत्याको अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली धनगढी पुगेको छ।
सीआईबीका प्रहरी नायब उपरीक्षकको नेतृत्वमा घटनाको अनुसन्धानका लागि धनगढी पुगेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले सीआईबीको टोली धनगढी पुगेको बताए।
सोही घटनाको अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरबाट समेत छुट्टाछुट्टै टोलीसमेत परिचालन गरिएको प्रहरी वरिष्ठ उपरीक्षक सिंहले बताए।
शनिबार राति ८ बजे नियमित गस्तीमा खटिएका अस्थायी प्रहरी पोष्ट जुगेडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान रामबहादुर साउद सम्पर्कविहीन भएका थिए।
घाँटी रेटेर हत्या गरिएको अवस्थामा आइतबार बिकको शव वडा नम्बर १० मोहना नदी किनारमा भेटिएका थियो भने उनीसँगै गएका प्रहरी जवान साउदको अवस्था अझै अज्ञात छ।