काठमाडौं– सत्तारुढ दल नेकपाले सांसदलाई वितरण गरिएको दसैं भत्ता प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने तयारी गरेको छ।
जनता कोरोना महामारीको समस्यामा परेका बेला सांसद तथा अन्य पदाधिकारीले दसैं भत्ता लिएपछि चौतर्फी विरोध भइरहेको छ।
राष्ट्रियसभामा नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले यसबारे छलफल भइरहेको र साँझसम्म निर्णय हुने बताए।
‘व्यक्तिगतभन्दा पनि संस्थागत निर्णय गर्ने भनेर छलफल भइरहेको छ,’ उनले भने, ‘साँझसम्म प्रधानमन्त्री राहत कोषमा जम्मा गर्छौं।’
नेकपाका केही सांसदहरुले भने भत्ताबापतको रकम फिर्ता गरिसकेका छन्।
नेकपामा प्रतिनिधिसभामा १७४ र राष्ट्रियसभामा ४६ जना गरी २२० जना सांसद छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलले पनि आफ्ना सांसदहरुलाई रकम फिर्ता गर्न निर्देशन गरिसकेको छ।