विराटनगर– चाडपर्वमा कोरोना संक्रमण फैलन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय मोरङले निषेध आदेश जारी गरेको छ।
निषेध आदेश खुकुलो पारेको एक महिनापछि आइतबार पुनः निषेध आदेश लगाउने निर्णय गरिएको छ। कात्तिक ३ गतेदेखि १५ गते राति १२ बजेसम्म निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए।
प्रशासन कार्यालयले मठमन्दिरलगायतका स्थानामा भेला भई पूजा नगर्न अनुरोध गरेको छ। साथै सामूहिक रुपमा भेला भई शुभकामना आदानप्रदानका कार्यक्रम, शिलान्यास, उद्घाटन, सभासम्मेलनमा पनि रोक लगाएको छ।
निषेध आदेशमा जिल्लाभर राति ८ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा चल्ने लामो दूरीका सवारीबाहेक आवातजावतमा रोक लगाइएको छ। प्रशासन कार्यालयले यसअघि लगाएको निषेध आदेश गत भदौ २८ गते हटेको थियो।
मोरङमा आइतबारसम्म कोरोना संक्रमितको संख्या ६ हजार ६२४ पुगेको छ। संक्रमितमध्ये २ हजार ७४२ डिस्चार्ज भएका छन्।