नेदरल्यान्ड्समा तनाव हटाउन र शान्ति पाउन गाईसँग घण्टाैं बिताउने चलन चलेको छ।
स्थानीय भाषामा ‘काऊ नफलेन’ (गाईलाई अँगालो हाल्नु) भनिने यो नयाँ संस्कृति गाईसँग टाँसिएर बस्दा प्राप्त हुने शान्तिमा आधारित छ।
गाईलाई अँगालो हाल्न चाहनेहरु कुनै गाई फार्ममा जान्छन् र गाईसँग टाँसिएर घण्टौं बिताउँछन्।
गाईको ढाड थपथपाउनु र ऊसँग टाँसिएर बस्नु वा अँगालो हाल्नु एक खालको थेरापीजस्तै हो। गाई र तपाईंबीच विश्वास विकसित भयो भने उसले पनि फर्किएर चाट्न थाल्छ।
गाईको शरीरको न्यानो, सुस्त धडकन र ठूलो आकारले ऊसँग टाँसिएर बस्नेलाई असीम शान्तिको अनुभूति दिन्छ।
यो सुखदायी अनुभव मानिसलाई मात्र होइन गाईलाई पनि हुन्छ। गाईको ढाड कन्याइदिएजस्तै आनन्द मान्छ गाईले।
गाईसँग टाँसिएर बस्नु, उसले चाट्नु यो चिकित्सकीय अनुभवकै भाग हो।
अक्सिटोसन हार्मोन
नेदरल्यान्ड्समा गाई फार्मकी सञ्चालिका भन्छिन्, ‘सामान्यता गाई शान्त हुन्छन्, विनाकारण भिड्दैनन् र कसैलाई दु:ख दिंदैनन्।’
अँगालो हाल्नकै लागि तयार पारिएका गाई त अझ धेरै शान्त हुन्छन्। जब गाईलाई मानिसको निकटता मन पर्दैन वा दिक्क लाग्छ, ऊ उठेर अर्कोतिर गइदिन्छ।
गाईलाई अँगालो हाल्दा मानिसको शरीरमा अक्सिटोसिन उत्पन्न हुन्छ र यसले सुखद अनुभूति गराउँछ। यो हार्मोन असल सामाजिक सम्पर्कका बेला पनि निस्कन्छ।
अक्सिटोसिनले मानिसमा सन्तुष्टिको भावना पैदा गर्ने र तनाव कम गर्ने काम गर्छ। साथीहरुसँग गफ गर्दा पनि अक्सिटोसिनले शान्तिको अनुभूति गराउँछ।
मनको शान्ति
परापूर्व कालदेखि नै पाल्तु जनावरलाई अँगालो हाल्दा मनमा शान्ति हुने विश्वास छ। यस्तो अनुभूति ठूला जनावरसँग अझ बढी हुन्छ।
बिरालोलाई काखमा राखेर सोफामा बस्दा जति आनन्द हुन्छ त्योभन्दा बढी गाईसँग टाँसिएर बस्दा हुन्छ।
करिब एक दशक पहिलेदेखि नेदरल्यान्ड्सका ग्रामीण इलाकामा जनावरसँग समय बिताउने यो संस्कृति सुरु भएको हो।
अहिले यो ठूलो अभियानको हिस्सा भइसकेको छ। यो अभियानले मानिसलाई प्रकृति नजिक्याउने स्थानीयको विश्वास छ।
अब स्विजरल्यान्ड, अमेरिका जस्ता देशमा पनि यो चलन सुरु भएको छ। त्यहाँका मानिस पनि शान्तिको खोजीमा गाई फार्ममा गएर घण्टौं बिताउन थालेका छन्।
जनावरका लागि पनि सुखदायी
अँगालो हाल्ने यो संस्कृति जनावरका लागि पनि सुखद हुन्छ।
सन् २०१७ मा एनिमल बिहेवियर साइन्स जर्नलमा प्रकाशित शोधका अनुसार गाईको गर्धन र ढाडमा मसाज गरिदिने हो ऊ शान्त भएर पल्टिन्छ, उसका कान पनि घोप्टिन्छ। गाईलाई मानिससँग टाँसिदा सुखद अनुभूति हुन्छ।
हुन सक्छ- आगामी दिनमा चिकित्सकहरुले नै तनावग्रस्त व्यक्तिलाई गाईसँग समय विताउनका लागि सिफारिस गरुन्। -बीबीसीबाट अनुवाद