काठमाडौं– जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले भाउजूको हत्या गर्ने देवरलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ सुनबरा खोलामा माछा मार्ने क्रममा विवाद भएपछि देवरले भाउजूको हत्या गरेका थिए।
प्रहरी प्रवक्ता डीएसपी अमरबहादुर थापा क्षेत्रीका अनुसार २७ असोजमा माछा मार्ने क्रममा २४ वर्षीय मानसिंह खुनाले ३५ वर्षीया भाउजू कालीदेवी खुनाको हत्या गरेका हुन्।
‘मृतक र उनको छोरा जनक खुना र देवर मानसिंह गाउँकै सुनबरा खोलामा माछा मार्न गएका रहेछन्’, उनले भने, ‘पहिलेदेखि नै विवाद भइरहने र त्यस दिन पनि थप विवाद भएपछि हत्या गरेर शव जमिनमा गाडिएको रहेछ।’
दिउँसै माछा मार्न गएकी कालीदेवी राति अबेरसम्म घरमा फर्केर नआएपछि खोजतलास गर्ने क्रममा २८ असोज बिहान सुनबरा नदीको खोला किनारामा जमिनमा शव गाडिएको अवस्थामा फेला परेको थियो।
‘खोलामा माछा मारिरहेको अवस्थामा विवाद भएपछि मानसिंहले भाउजू कालीदेवीको १५÷२० मिनेटसम्म खोलाको पानीमा घाँटी थिचेर हत्या गरेर झाडीमा लुकाएर घर फर्किएको रहेछ,’ थापाले भने, ‘अर्काे दिन बिहान पुनः त्यहाँ गई झाडीमा लुकाएको शव नदी किनारामा रहेको बालुवामा खाल्डो खनेर पुरेको रहेछ।’
सँगै माछा मार्न गएको र कहाँ गयो भन्नेबारे सोधपुछ गर्ने क्रममा शंकास्पद व्यवहार देखिएपछि प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरेको थियो।
त्यसपछि पक्राउ परेका मानसिंहले आफूले गरेको अपराध स्वीकारेका थिए।
प्रतिवादी मानसिंहलाई कञ्चनपुर जिल्ला अदालतबाट १० दिन म्याद थप लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।