विराटनगर– दसैं सुरु भएसँगै मोरङको सुरक्षा व्यवस्था कडा पारिएको छ।
कोरोना संक्रमण तीव्र बढिरहेका बेला चाडपर्वलाई मर्यादित, व्यवस्थित र सुरक्षित बनाउन एक हजार दुई सय ३३ जना प्रहरी परिचालन गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।
सुरक्षा कडाइ गर्दै एसपी खड्का आपैंm फिल्डमा निस्किएका छन्। उनले विगतमा भएका घटना एवं आपराधिक गतिविधि विश्लेषण गरेर सुरक्षा व्यवस्था चुस्त बनाउने हिसाबमा काम भइरहेको खड्काले बताए।
विगतमा चाडपर्वका बेला भएका आपराधिक गतिविधि र यस वर्ष हुन सक्ने सम्भावित घटनालाई दृष्टिगत गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा पारेर लगेको हो।
बैंक, वित्तीय संस्था एवं आर्थिक गतिविधि हुने ठाउँ, महत्त्वपूर्ण प्रतिष्ठानहरु तथा सार्वजनिक स्थलमा प्रहरी उपस्थिति बढाइएको छ।
सुनचाँदी पसल, सरकारी तथा गैरसरकारी कार्यालय, एटीएम बुथ, सार्वजनिक स्थल र पसलमा २४ घण्टा प्रहरीले सुरक्षा प्रदान गर्न थालेको एसपी खड्काले जानकारी दिए।
चाडपर्वका बेला चोरी, लुटपाट र डकैती हुनसक्ने सम्भावनालाई मध्यनजर गरेर सुरक्षा व्यवस्था मजवुत बनाइएको उनको भनाइ छ।
शान्ति भड्काउने समूहलाई पूर्ण रुपमा नियन्त्रणमा लिइने नीति प्रहरीले बताएको छ।
एसपी खड्काका अनुसार उद्योग, कलकारखाना, महत्त्वपूर्ण प्रतिष्ठान, लोकमार्ग तथा अन्य सहायक राजमार्गको सुरक्षा अवस्थामा कुनै कमी आउन नदिई होटल, लज एवं रेस्टुरेन्टको नियमित निगरानी गर्न थालिएको छ।
विराटनगर क्षेत्रभित्र रहेका १४ वटा महत्त्वपूर्ण प्रतिष्ठानमा सुरक्षा प्रदान गर्न ९६ जना प्रहरीको अलग–अलग टोली परिचालन गरिएको छ।
सीमा अपराध नियन्त्रणका लागि भारतीय सीमा सुरक्षा अधिकारीसँगको समन्वय र सहकार्य पनि प्रहरीले बढाएको छ।
एसपी खड्काले सीमा क्षेत्रमा लुकिछिपी हुने चोरी तस्करी नियन्त्रण गर्न ‘स्विप अप्रेसन’ सञ्चालन गरिएको बताए।