काठमाडौं- सरकारले लक्षण हराएका कोरोना संक्रमितलाई १० दिनमै डिस्चार्ज गर्न अस्पतालहरुलाई निर्देशन दिएको छ।
यसअघि लक्षण नभएका संक्रमितलाई १४ दिनमा र लक्षण हराएका संक्रमितलाई लक्षण हराएको ३ दिनपछि डिस्चार्ज गर्न सरकारले निर्देशन दिएको थियो।
अब उपरान्त संक्रमितहरुमा लक्षण हराएमा १० दिनमै डिस्चार्ज गर्नुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
उनका अनुसार १० दिनमै डिस्चार्ज गर्दा संक्रमितले होम आइसोलेसनमा बस्ने सुनिश्चितता गर्नुपर्नेछ।
यसैबीच सरकारले कोरोनाको पीसीआर परीक्षण गर्ने प्रयोगशालाले दशैँको नवमी, दशमी र एकादशीको दिनमा मात्रै प्रयोगशाला बन्द गर्न पाउने बताएको छ।
र अत्यावश्यक प्रयोगशालाहरुले भने दशैँको कुनै दिन पनि परीक्षण रोक्न पाउने छैनन्।