काठमाडौं– कैलालीको धनगढी उपमहानगरपालिका–१२ स्थित अस्थायी प्रहरी पोष्टका इन्चार्जसमेत रहेका प्रहरी सहायक निरीक्षक गोविन्द विकको शव धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा भेटिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेशकुमार सिंहले धारिलो हतियार प्रयोग गरेर असईको हत्या गरेर नदी किनारमा शव फालिएको अवस्थामा भेटिएको बताए।
‘असईको धारिलो हतियारले घाँटी रेटिएको अवस्था छ,’ उनले भने, ‘प्रहरी जवान अझै सम्पर्कविहीन नै छन्।’

प्रहरी जवान रामबहादुर साउदको अवस्था अहिलेसम्म अज्ञात नै छ। प्रहरीले असईको हत्या गरिएको अवस्थामा शव भेटिएकाले जवानको पनि हत्या नै भएको हुन सक्ने अनुमान गरेको छ।
‘हामीले प्रहरी जवानको शव पनि नदीमा हुन सक्ने आशंकामा सशस्त्र प्रहरीको गोताखोर टोली ल्याएर खोजतलास गर्दैछौं,’ उनले भने, ‘घटनास्थलमा प्रहरी जवानको मोबाइल भेटिएको छ। अन्य केही सबुत पनि हेर्दैछौं।’

जवानको अवस्था अज्ञात रहेकाले अहिले केही भन्न नसकिने प्रहरीले जनाएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदी बिहानैदेखि घटनास्थलमा नै खटिएका छन्। अहिले घटनास्थल क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरेर सर्च अपरेसन भइरहेको छ।
अस्थायी प्रहरी पोष्ट रहेको जुगेडा सीमावर्ती क्षेत्र हो। त्यहाँबाट अवैध तस्करी हुने भएकाले सुरक्षा निकायले नियमित निगरानी गर्दै आइरहेका थिए। तस्करकै समूहले नै गस्तीमा गएको समयमा घेरा हालेर हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ।
असईको स्थायी ठेगाना कञ्चनपुरको पुनर्वास नगरपालिका–९ र प्रहरी जवानको अछामको बान्नीगढी गाउँपालिका–५ रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।