काठमाडौं– सहकर्मीको हत्या गरेर फरार रहेका दुईजनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ११ वर्षपछि पक्राउ गरेको छ। सीआईबीले बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाबाट दुवैलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा मकवानपुर भिमफेदी नगरपालिका–८ का ५१ वर्षीय भिमसेन घागा मगर र ३० वर्षीय रामकृष्ण चुनी मगर रहेका छन्। उनीहरु मामा–भान्जा हुन्।
घटना लगत्तै ललितपुरबाट पैदलै हेटौंडा गएर ट्रक चढी रक्सौल नाका हुँदै भारतको नयाँ दिल्लीमा गएर बस्दै आएका थिए। त्यहाँ उनीहरुले आफ्नो वास्तविक परिचय परिवर्तन गरेर भारतीय आधार कार्ड बनाई रामकृष्ण प्लाष्टिक कारखानामा र भिमसेनले अटो रिक्सा चलाउने काम गर्दै आइरहेका थिए।
ललितपुर गोदावरी नगरपालिका–१३ स्थित आरएम इँटाभट्टामा काम गर्ने मकवानपुर भिमफेदी नगरपालिका– ८ का ३६ वर्षीय डिल बहादुर योञ्जनको उनीहरुले हत्या गरेका थिए।
२८ बैशाख २०६६ मा योञ्जनलाई सुत्ने कोठा बाहिर कोदालीको विँडले हानी, कुटपिट समेत गरी घाइते बनाएर फरार भएका थिए। योञ्जनको उपचारका क्रममा वीर अस्पतालमा तीन दिनपछि मृत्यु भएको थियो।
सामान्य विषयमा भएको झगडाको कारण उनीहरुले हत्या गरेको अनुसन्धानबाट खुलेको छ। ब्यूरोले थप आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी वृत चापागाउँ ललितपुरको जिम्मा लगाएको छ।