बर्दिया- कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेको पर्यटकीय क्षेत्र बर्दिया राष्ट्रिय निकुञ्जभित्र स्वास्थ्य मापदण्ड अपनाएर जङ्गल सफारीका लागि खुला गरिएको छ।
गत चैत ७ गतेदेखि बाह्य तथा आन्तरिक पर्यटकका लागि निकुञ्ज क्षेत्र पूर्णरुपमा बन्द गरिएकामा आजदेखि खुला गरिएका कारण ठाकुरद्वारामा चहलपहल पनि बढ्न थालेको छ।
निश्चित क्षेत्र तोकेर पर्यटकीय गतिविधि सञ्चालन गरेको निकुञ्ज प्रशासनले तोकिएका मार्गमा मात्रै जङ्गल सफारी र सवारी साधनमा समेत यात्रा गर्न पाउने गरी खुला गरिएको छ।
सवारी साधनबाट यात्राका लागि भने सिट क्षमताको बढीमा ६० प्रतिशतमात्र पर्यटक राख्न पाइने र पैदल यात्राका लागि भने एक पटकमा पथ प्रदर्शकसहित चार पर्यटक मात्र प्रवेश गर्न पाइने निकुञ्जका सहायक संरक्षण अधिकृत महेश्वरप्रसाद निरौलाले बताए।
यस क्षेत्रमा पर्यटकलाई लक्षित २९सुविधा सम्पन्न होटल तथा रिसोर्ट सञ्चालन गरिएका छन् । ती होटल तथा रिसोर्टहरूमा रू. तीन अर्ब ५० करोडभन्दा बढीको लगानी छ।
-रासस