काठमाडौं- डिजिटल कर्णाली निर्माणको लागि वर्ल्डलिंक कम्युनिकेशन र कर्णाली बेसिन संरक्षण फाउण्डेशन (केबीसीएफ) ले सहकार्य गर्ने भएका छन्।
कर्णाली र सुदूरपश्चिम प्रदेशको सामाजिक आर्थिक विकासको लागि नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले केबीसीएफसँग मिलेर काम गर्न लागेको हो।
केबीसीएफले जैविक विविधता संरक्षण, जीविकोपार्जनका अवसरहरू, स्वास्थ्य सेवा, गुणस्तरीय शिक्षामा पहुँच र इको टुरिज्मलाई बढावा दिने क्रियाकलापहरूको लागि काम गरिरहेको छन् भने वर्ल्डलिंक कम्युनिकेशन्सले नेपालका दुर्गम र ग्रामीण क्षेत्रमा आफ्ना सेवाहरू विस्तार गर्दैछ।
केबीसीएफका अध्यक्ष राधेश पन्तले यस साझेदारीको महत्वमाथि जोड दिँदै भने, ‘यस क्षेत्रमा अझ धेरै उपलब्धि हासिल गर्न बाँकी छ, त्यसैले दीर्घकालीन र दिगो विकासको लागि एउटा बलियो आधारशिला निर्माण गर्नु महत्वपूर्ण छ ।’ उनले अगाडि थपे, ‘यस सम्बन्धमा डजिटल अर्थतन्त्रको लागि चाहिने सबै प्रकारका गुणस्तरीय तथा भरपर्दो पूर्वाधार हुनु महत्वपूर्ण हुनेछ । हाम्रो उद्देश्य यस क्षेत्रकालाई विकास प्रक्रियामा अगाडि बढ्नका लागी सहयोग गर्नु हो र यो अग्रगामी उद्देश्य प्राप्त गर्न वर्ल्डलिंक कम्युनिकेशन्स एक निर्विकल्प तथा विश्वासिलो साझेदार हो ।’
त्यस्तै, वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडका अध्यक्ष तथा संस्थापक निर्देशक दिलीप अग्रवालले भने, ‘हामी विकासको क्षेत्र चिन्न र स्थिर डिजिटल प्लेटफर्मको अवसरको लाभ उठाउन व्यवसायी, सामुदायिक समूह र व्यक्तिहरूको लागि इन्टरनेटको पहुँच पुर्याउने दिशामा संयुक्त रुपमा डिजिटल कर्णालीको भिजन साकार पार्ने काम गर्ने छौं ।’
‘सबैका लागि, जहाँ पनि जतिबेला पनि जोड्ने’ वर्ल्डलिंकको मूल्य र मान्यतासँग पूर्णरुपले मेल खाएको हुँदा यो कार्यक्रमलाई पूर्णरुपमा अग्रवालले बताए ।
दुबै पक्षले रोजगारी सृजना र स्थानीय उद्यमी एवम मध्यम तथा साना उद्यमीहरूलाई सहयोग पुर्याउन आर्थिक, वातावरणीय र सामाजिक प्रभाव प्राप्त गर्न सँगै मिलेर काम गर्ने वाचा गरेका छन् ।