विराटनगर– विराटनगरमा एक सय बेड क्षमताको प्रि–कोभिड १९ अस्पताल संचालन गर्ने विषयमा निजीस्तरमा छलफल भइरहेको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाको पहलमा निजी क्षेत्रका उद्योगी व्यवसायी तथा सरोकारवालासँग छलफल सुरु भएको हो।
भर्चुअल छलफलमा सहभागी चिकित्सक, राजनीतिकर्मी तथा व्यवसायीले अस्पताल संचालन गर्ने विषयमा आफूहरुको पूर्ण सहयोग रहने प्रतिबद्धता जनाए।
चिकित्सक संघका केन्द्रीय अध्यक्ष डा.लोचन कार्कीले भएकै पूर्वाधारलाई प्रयोग गरेर अस्पताल संचालन गर्न सकिने र भएकै संरचनालाई अस्पतालमा परिणत गर्दा खर्च बचाउन सकिने बताए।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य महेश जाजूले विराटनगरमा प्रि–कोभिड अस्पताल संचालन गर्न निजी क्षेत्रको सहयोग संधै रहने बताए।
उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले सरकारको कमजोरीका कारण धेरै मानिसले उपचार प्राप्त गर्न नसकेको जस्तो देखिएको बताए। जनतालाई सरकारले सेवा दिन कमजोरी गर्न नहुने सुझाव दिए। मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले निजी क्षेत्रले सरकारको काममा संधै सहयोग गर्दै आएको सुनाए।
विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगरमा बढ्दो कोरोना संक्रमणलाई न्यूनीकरण गर्ने ठूलो चुनौती रहेको भन्दै अब प्रि–कोभिड अस्पताल जरुरी भएको बताए।
उनले विराटनगर महानगरले पहलकदमी र नेतृत्व लिन सक्ने बताए। चालु रहेका अस्पताल वा सामुदायिक भवनमा अस्पताल संचालन गर्ने विषयमा थप मिहीन छलफल गर्ने प्रमुख पराजुलीले बताए।
कांग्रेस नेता डा. शेखर कोइरालाले चाँडै सञ्चालन गर्ने गरी तयारी थाल्न सुझाव दिए।