काठमाडौं- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अब सभापति शेरबहादुर देउवाबाट पार्टी अघि बढ्न नसक्ने बताएका छन्।
यस्तै उनले वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा पनि पार्टीले गति लिन नसक्ने दाबी गरे।
नेपाल शिक्षक संघ काठमाडौं महानगरपालिकाले दसैंतिहारलगायत चाडपर्वका अवसरमा आयोजना गरेको भर्चुअल कार्यक्रममा सम्बोधन गर्दै पूवउपप्रधानमन्त्री सिंहले भने, 'मैले देशका धेरै साथीहरुसँग कुरा गरेको छु। धेरै साथीहरुको माग छ, अब वर्तमान सभापति देउवा र वरिष्ठ नेता पौडेलबाट कांग्रेस अघि बढ्न सक्दैन।'
कार्यकर्ताले स्वच्छ र सबैलाई मिलाएर लैजान सक्ने नेतृत्व चाहेको उनको भनाइ छ।
मुलुकमा भएका ठूलाठूला राजनीतिक परिवर्तनको नेतृत्व गरेको र नयाँ संविधान जारी गर्न अगुवाइ गरेको पार्टीलाई जनताले नपत्याउनुमा वर्तमान नेतृत्वको कमजोरी रहेको उनको आरोप छ।
उनले भने, 'संगठनलाई कुशल रुपमा परिचालन गर्ने नेतृत्व भएको भए यस्तो अवस्था आउँदैनथ्यो।'
१३ औं महाधिवेशनपछि नेतृत्वमा आएका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक प्रक्रियाअनुसार पार्टीलाई अगाडि बढाउन नसकेको आरोप सिंहले लगाए।
उनले भने, 'कांग्रेसले जनमत ल्याउन नसक्नुमा नेतृत्वकै कमजोरी छ। समयको मागबमोजिम पार्टीलाई हाँक्न सक्ने नेतृत्व चाहिएको छ। नेतृत्व बलियो भए मात्र बाटो बिराएको संगठनलाई सही ठाउँमा ल्याउन सकिन्छ।'
उनले सरकार कोरोनाका कारण देखाएर अनियमिततामा डुबेजस्तै कांग्रेस नेतृत्वले पनि कोरोनाको कारण देखाएर सांगठनिक गतिविधि गर्न नसकेको भनाइ राखे।
उनले भने, 'नेतृत्वले अधिवेशनका लागि गृहकार्य गर्न सकेन। विधानको निर्देशन मानेन। नेतृत्वले विधानअनुसार काम नगरेकै कारण एक वर्ष थपियो। अहिले कोरोना महामारीको बहाना बनाइँदै छ।'
उनले अबको महाधिवेशनलाई अवसरका रुपमा लिनुपर्नेमा जोड दिए।
कांग्रेस कमजोर भएकै कारण सत्ताधारीले मनपरी गरिरहेको उनले बताए। उनले पार्टी सभापति देउवाले संसदमा पनि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाए।
सिंहले भने, 'सभापतिको भूमिका प्रभावकारी भएको भए संघीय शिक्षा ऐन चाँडै आउन सक्थ्यो।' निजामती कर्मचारी र शिक्षकको सेवासुविधा समान बनाउन कांग्रेस बलियो हुनुपर्ने सिंहको भनाइ छ।
सरकारले संघीय शिक्षा ऐन नबनाएर आफ्नो संगठनलाई बल पुग्ने गरी आस्थाका आधारमा विभेद गरेको बताए। आफ्नो कार्यकर्ता संरक्षण गर्न ऐन ल्याउन ढिलाइ गरेको उनले बताए।
उनले संघीय शिक्षा ऐन छिटो जारी गर्न आफूले सक्दो पहल गर्ने बताए। उनले दरबन्दी मिलानका नाममा सरकारले शिक्षकहरुमाथि अन्याय गरिरहेको बताए
नेपाल शिक्षक संघ काठमाडौं महानगरपालिकाका अध्यक्ष नारायण गौतमको सभापतित्वमा भएको कार्यक्रममा नेपाल शिक्षक महासंघका संघीय उपाध्यक्ष सोमनाथ गिरी, महासचिव लक्ष्मीकिशोर सुवेदी, उपमहासचिव सुन्दर पन्त, संघका काठमाडौं अध्यक्ष रविन महर्जन, संघको चितवनका अध्यक्ष हरिप्रसाद कँडेल, संघको काठमाडौं महानगर उपाध्यक्ष सविता पोखरेल, सहसचिव उत्तम पन्त, काठमाडौं शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नन्दलाल पौडेललगायतले शिक्षकका समसामयिक मुद्दामाथि धारणा राखेका थिए।