काठमाडौं– इन्डियन प्रिमियर लिग(आईपीएल)मा आज शनिबार दुई खेल हुँदैछन्। दिउँसो पौने ४ बजे सुरु हुने पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सँग प्रतिस्पर्धा गर्नेछ।
सिजनमा लगातार पाँच खेल हारेको राजस्थान आजको खेलमा जितको आशासहित मैदान प्रवेश गर्नेछ। उसलाई जित्नैपर्ने दबाब पनि छ।
राजस्थानलाई आईपीएलको पछिल्लो खेलमा पनि बैंगलोरसँग बेहोरेको हारको बदला लिने अवसर पनि हुनेछ। उक्त खेलमा विराट कोहलीको टिमले ८ विकेटको जित निकालेको थियो। यस्तोमा प्रतियोगितामा अघि बढ्नका लागि राजस्थानलाई जित निकाल्नैपर्ने दबाब छ।
राजस्थानमा बेन स्टोक्स र स्टिभ स्मिथजस्ता भरपर्दा खेलाडीसमेत छन्। जोफ्रा आर्चर पनि राजस्थानका बलिया बलर हुन्। उनीहरुको उत्कृष्ट खेलका बाबजुद राजस्थान अन्तिमबाट दोस्रो स्थानमा छ। राम्रो फर्ममा रहेको बैंगलोर १० अंकका साथ तेस्रो स्थानमा छ।
यि दुई टिमबीच हेड टू हेड हेर्ने हो भने बैंगलोरले ९ खेल जितेको छ भने राजस्थानले १० खेल जितेको छ। तीन खेल नजिताविहिन बनेका थिए।
दुबई रंगशालामा हुने पहिलो खेलमा मौसमले राम्रो साथ दिनेछ। आकास सफा रहनेछ भने तापक्रम २२ देखि ३६ डिग्री रहनेछ। यस्तोमा ब्याट्स्मेनलाई फाइदा हुनेछ भने स्लो विकेट भएका स्पिनर्सले पनि फाइदा उठाउन सक्नेछन्।
सम्भावित प्लेइङ सेटः
राजस्थानः स्टिव स्मिथ(कप्तान), सन्जु समसन, जोस बटलर, रबित उथप्पा, रियान पराग, बेन स्टोक्स, राहुल तेबतिया, श्रेयस गोपाल, जयदेव उनादकट, जोफ्रा आर्चर र कार्तिक त्यागी
बैंगलोरः विराट कोहली(कप्तान) एबी डिबिलियर्स, एरोन फिन्च, देवदत्त पोडिक्कल, क्रिस मोरिसन, शिवम् दुवे, बासिंटन सुन्दर, नवदीप शैनी, इसुरु उडाना, युजवेन्द्र चहल, मोहम्मद रिसाज
दोस्रो खेलमा दिल्ली र चेन्नई
राति पौने ८ बजे शारजाह मैदानमा हुने खेलमा दिल्ली क्यापिटलले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ। ८ पटक फाइनल खेलिसकेको चेन्नई जारी सिजनमा कमजोर प्रदर्शन गर्दै शीर्ष चारमा पनि पुग्न सकेको छैन। यस्तोमा उसले अझै धेरै मेहनत गरेर खेल प्रदर्शन गर्नेछ।
यता सधै कमजोर देखिएको दिल्ली यो सिजनमा भने प्लेअफमा स्थान सुरक्षित गर्ने तर्फ निकै अघि बढिसकेको मात्र छैन, शीर्षस्थानमा मुम्बईलाई चुनौति दिरहेको छ।
यसपहिले भएको खेलमा पनि दिल्लीले चेन्नईलाई ४४ रनले हराएको थियो। आईपीएल हेड टू हेडमा चेन्नईले १५ पटक जितेको छ भने दिल्लीले ७ पटक मात्र चेन्नईलाई हराएको छ।
जारी सिजनमा दिल्लीलाई हेड टू हेडले असर गरिरहेको छैन। उसले दुई खेल मात्र हारेको छ। तर आईपीएल फाइनलको अनुभव भने दिल्लीसँग छैन। यता चेन्नईले भने ८ फाइनल खेलेर तीन उपाधि जितेको छ।
शारजाह र दुबई मैदानमा मौसम र पीचको अवस्था एकै प्रकारको रहने छ।
सम्भावित प्लेइङ सेटः
चेन्नईः महेन्द्र सिंह धोनी, शेन बाट्सन, फाफ डूप्लेसिस, अन्बाती रायडू, ड्वेन ब्रावो, रविन्द्र जाडेजा, सम करण, दिपक चाहर, पियुष चावला, कर्ण शर्मा र शार्दुल ठाकुर
दिल्लीः श्रेयस अय्यर(कप्तान), एलेक्स केरी, पृथ्वी श, शिखर धवन, अजिंक्य रहाणे, मार्कस स्टोइनिस, अक्षर पटेल, कागिसो रबाडा, इनरिच नोर्तजे, रविचन्द्र अश्विन र तुषार देशपाण्डे
अंक तालिकामा प्रतिस्पर्धा
अहिले समान १२ अंक बनाएका मुम्बई र दिल्लीले समान ८ खेलमा समान ६ जित निकालेका छन्। यता बैंगलोर ८ खेलमै १० अंक बनाएर अबको खेलबाट शीर्षस्थानमा जान चाहन्छ। शीर्ष चारको प्रतिस्पर्धा पनि पेचिलो नै छ।
सबैजसो खेलमा शीर्ष चारमा रहने चेन्नई जारी सिजनमा छैटौं स्थानमा छ भने राजस्थान पनि पुछारतिरै छ। यसकारण उनीहरु शीर्ष चारका लागि कलकत्ता र हैदराबादसँग अंकतालिकामा प्रतिस्पर्धा गरिरहेका छन्।
कलकत्ता र हैदराबाद चौथो र पाँचौ स्थानमा छन्। कलकत्ताको ८ अंक छ भने हैदराबाद, चेन्नई र राजस्थानमो ८ खेलमा ६ अंक मात्र छ।