बागलुङ- नेपाली सेना र प्रहरीको ब्यारेकमा कोरोना सङ्क्रमण तीव्र बन्दै गएको छ । बिहीबार मात्रै यहाँ कार्यरत २२ नेपाली सेना र १४ नेपाल प्रहरीमा सङ्क्रमण पुष्टि भएको छ।
यसअघि गत आइतबार नेपाली सेनाको २३ नं बाहिनीका १८ र अर्जुनवाण गण घोडाबाँधेका १२ सैनिकमा कोरोना देखिएको थियो।
अघिल्लो बुधबार नेपाली सेनाका २८ जनामा एकसाथ सङ्क्रमण पुष्टि भएको थियो। नेपाल प्रहरीमा पनि सङ्क्रमित थपिँदै गएका छन्। आइतबार जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतमा कोरोना देखिएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका १४ जनामा बिहीबार सङ्क्रमण पुष्टि भएको हो।
बिहीबार मात्रै नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि, उच्च अदालत पोखरा बागलुङ इजलासमा कार्यरत तीनसहित ५१ जना सङ्क्रमित थपिएका हुन्।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पीसीआर जाँचमा ४५ पुरुष र ६ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले जानकारी दिए।
सङ्क्रमितमध्ये विदेशबाट आई क्वारेन्टिनमा बसेकासमेत छन्। यो सँगै जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या ५८५ पुगेको छ। केही समयअघि नियन्त्रणउन्मुख देखिए पनि अहिले फेरि सङ्क्रमण दर बढ्दो छ। पछिल्लो दुई सातामा झण्डै २०० सङ्क्रमित थपिएका छन्।
प्रमुख गुरौले अहिले ‘क्लस्टर’मा बढी सङ्क्रमण देखिएको र समुदायस्तरमा फैलन नदिन उच्च सावधानी अपनाउनुपर्ने बताए। यात्रा विवरण नभएका र सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्क नभएका व्यक्तिमा पनि सङ्क्रमण देखिन थाले त्यो चिन्ताको विषय हुने उनले बताए।
स्वास्थ्य कार्यालयका अनुसार हालसम्म कोरोना लागेर निको हुनेको सङ्ख्या ३८८ छ भने आइसोलेसनमा १९५ सङ्क्रमित छन्। क्वारेन्टिनमा रहेकाको सङ्ख्या ५६ छ। हालसम्म ८ हजार ७२२ जनाको पीसीआर जाँच गरिएको छ। सङ्क्रमित हुनेमा पुरष ९१ र महिला ९ प्रतिशत छन्।
कोरोना सङ्क्रमणपछि निको भएको दर ७२.०७ प्रतिशत छ भने मृत्युदर ०.०४ प्रतिशत छ।