आइतबार, भदौ १४, २०८३

गण्डकीमा कोरोना : संख्या बढ्दै, सावधानी घट्दै 

चैत १५ मा पहिलो संक्रमित पुष्टि भएको गण्डकीमा अहिलेसम्म करिब ५ हजार २ सय जनामा कोरोना देखिएको छ। 
 |  बिहीबार, असोज २९, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०७७

पोखरा – बेल्जियमबाट आएकी बागलुङकी युवतीमा चैत १५ गते कोरोना पुष्टि हुँदा पोखरेली निकै तर्सिए। 

कतार एयरवेजको जहाजबाट चैत ४ मा नेपाल आएर जहाजबाटै पोखरा आएकी उनी माइक्रोबसबाट बागलुङ पुगेकी थिइन् । 

‘पोखरा एयरपोर्टमा कति जनासँग भेट  भयो होला? माइक्रोबसमा सँगै बसेकालाई पक्कै कोरोना सरेको होला? अब पोखरामा पनि महामारी हुनेभयो’ भन्ने त्रास फैलियो । 

चैत १५ मा पहिलो संक्रमित पुष्टि भएको गण्डकीमा अहिलेसम्म करिब ५ हजार २ सय जनामा कोरोना देखिएको छ। 

जति संख्या बढ्दो छ, उति सावधानी घट्दो छ। सबैलाई दसैंको वाहाना मिलेको छ। किनमेलदेखि आउजाउ गर्नेको भीडभाड बढेकै छ। 

दुई महिना अघिसम्म विदेश र खासगरि भारतबाट आउनेहरूले कोरोना ल्याएका होलान् भन्ने आशंका हुन्थ्यो। 

कुन गाउँमा कतिजना आए र उनीहरूलाई कहाँको क्वारेन्टिनमा राख्ने भन्ने तनाव हुन्थ्यो पालिकाहरूलाई । अहिले त को कहाँबाट आयो र कहाँ जाँदैछ भन्ने रेकर्ड पनि राख्न छाडिएको छ। 

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदबिन्दु शर्मा पहिला विदेश र खासगरी भारतबाट आउनेसँग डराउनुपर्नेमा अहिले काठमाडौंबाट आउनेसँग तर्सिनुपर्ने अवस्था आएको बताउँछन्। 

उनले भने, ‘अहिले काठमाडौंमा संक्रमण दर बढ्दो छ। दुई महिना अगाडि भारतबाट आउनेमा कोरोना संक्रमण हुन्छ भन्ने आम मानिसको सोचाइ थियो, अब काठमाडौंबाट आउनेमा कोरोना संक्रमण हुन्छ भन्ने अवस्था आयो।’ 

उनकै शब्द सापटी लिने हो भने काठमाडौंबाट मानिस बाहिरिनु भनेको संक्रमण बाहिरिनु हो। अब गण्डकी प्रदेशमा पनि कोरोना संक्रमण झनै बढ्ने सम्भावना छ। 

‘अब गम्भीर बिरामीको हेरचाह, उपचार गर्नेमा हामी केन्द्रित हुनेछौं । पहिला ल्याब टेस्ट कहाँ गर्ने भन्ने चिन्ता हुन्थ्यो,’ डा शर्मले भने, ‘अहिले लक्षणसहितका बिरामीको व्यवस्थापनमा चुनौति छ।’ 

डा. शर्माका अनुसार तीजमा जसरी निषेधाज्ञा लगाएर कोरोनाको दर रोक्यौं, दसैं तिहारमा पनि त्यस्तै गर्न सके कोरोना संक्रमण आधा रोक्न सकिन्छ।

अहिलेको अवस्था रहने हो भने रोक्न सकिँदैन। संक्रमण गाउँगाउँमा पुग्छ । दसैंभन्दा ८–९ दिन अगाडिदेखि नै मानिसको चहलपहल हुन्छ र दसैंको दिनमा नै धेरै संक्रमित फेला पर्ने उनले बताए। 

‘अहिले हामीले ‘जहाँ छौं त्यहीँ दसैं मनाऔं’ नारा बनाउनुपर्छ। आसिर्वाद लिन कोरोना लिएर कहीँ पनि नजाऔँ । फोनबाटै आशीर्वाद लिऔँ। कोरोनाको लिएर कतै नगई जहाँ छौं त्यहीँ बसौं,’ शर्माले नेपाल समयसँग भने। 

५१ सय ८७ संक्रमित, ४६ को मृत्यु 
बुधबार साँझसम्म प्रदेशमा ५१ सय ८७ जनामा कोरोना संक्रमण देखिएको छ।  कुल संक्रमितमध्ये ३८.७ प्रतिशत असोज महिनामा मात्रै थपिएका हुन्। 

असोजयता २८ दिनमा प्रदेशभर २ हजार ९ संक्रमित थपिएको निर्देशनालयको तथ्यांक छ। थपिएकामध्ये १५ सय ३५ (७६.४० प्रतिशत) संक्रमित निको भएका छन्। 

कुल संक्रमितमध्ये ३४ सय ७० (६६.८९) प्रतिशत निको भएका छन्। तीजमा नबढेको  संक्रमण दसैंमा बढ्ने स्वास्थ्यसम्बद्ध अधिकारीको चिन्ता छ।  

असोजमा ३ अंकको संक्रमण बढेको निर्देशनालयको तथ्यांकले देखाउँछ। १८ असोजमा हालसम्मकै सबैभन्दा धेरै १ सय ६० जनामा कोरोना पुष्टि भयो । बुधबारमात्रै गण्डकी प्रदेशमा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २८ दिनमा १५ संक्रमितको ज्यान गएको छ। असोजमा तनहुँ र नवलपुरका ४–४ जनाको ज्यान गएको छ। कास्कीका ३, स्याङ्जाका २, लमजुङ र गोरखाका १–१ जना संक्रमितले ज्यान गुमाएका छन्। 

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ। मृत्यु हुनेमा कास्कीका १३, नवलपुरका ९, तनहुँका ८, गोरखाका ७, स्याङ्जाका ५, लमजुङका २, बागलुङ र म्याग्दीका १–१ जना छन्।

मुस्ताङमात्रै संक्रमण शून्य 
गण्डकी प्रदेशका ११ जिल्लामध्ये मुस्ताङमात्रै कोरोना शून्य भएको छ। ६ असारमा भेटिएका संक्रमित निको भएपछि त्यहाँ अहिले कसैलाई कोरोना देखिएको छैन। 

प्रदेशभर १६ सय ७१ सक्रिय संक्रमित रहेको निर्देशनालयले जनाएको छ। सबैभन्दा बढी कास्कीमा ६ सय सक्रिय संक्रमित छन्। 

मनाङमा सबैभन्दा कम ५ सक्रिय संक्रमित छन्। गण्डकीमा अहिलेसम्म ७८ हजार ६ सय २६ स्वाब परीक्षण भएको छ।  
 

प्रकाशित: Oct 15, 2020| 01:31 बिहीबार, असोज २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।