काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रूपमा मन्त्रिपरिषद् हेरफेर गरेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहालले गम्भीर आपत्ति जनाएका छन्।
‘आजको छलफलमा मन्त्रिपरिषद् पुनर्गठनका विषयमा कुनै छलफल र सहमति भएको थिएन’, दाहाल निकट स्रोतले भन्यो, ‘एकलौटी हिसाबले रिक्त मन्त्रालयमा मन्त्री थप्ने काम भएको छ।’
प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालयमा पार्टी महासचिव विष्णु पौडेललाई नियुक्त गरेका छन् भने शहरी विकासमा कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठलाई ल्याएका छन्। महिला मन्त्रालयमा रहेका पार्वत गुरुङलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको नेतृत्व दिएका छन्।
दाहालका प्रेस सयोजक विष्णु सापकोटाले पनि आजको छलफलमा कुनै सहमति नभएको बताएका थिए।
ओलीले आइतबार नै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरे पनि दाहालको असहमतिका कारण गर्न सकेका थिएनन्। तर आजको छलफलपछि बेलुकी प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्।
२६ भदौमा सम्पन्न भएको पार्टी स्थायी कमिटीको बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो। त्यसलगत्तै बसेको सचिवालय बैठकमा मापदण्ड बनाएर पुनर्गठन गर्ने निर्णय गरेर त्यसको जिम्मा अध्यक्षद्वयलाई दिएको थियो।
तर दुई अध्यक्षबिच निरन्तर छलफल भए पनि सहमति हुन सकेको छैन। प्रधानमन्त्रीले रिक्त रहेका तीन मन्त्रालयमा यसअघि नै नियुक्तिको तयारी गरेका थिए।
प्रधानमन्त्रीले एकलौटी मन्त्रिमण्डल पुनर्गठन गरेपछि त्यसले पुनः नेकपाभित्रको विवाद बढ्ने देखिएको छ।